२० चैत, काठमाडौं । चैत १५ गते राजावादीले गरेकाे हिंसात्मक आन्दोलनको विरुद्धमा अखिल (समाजवादी)ले प्रेस विज्ञप्ती निकालेको छ,विज्ञप्तिकाे मुलभुत सार यस्तो छ-: मान्छेको चेतना र वस्तुगत आवश्यकताले रद्दीमा पुगिसकेको पूर्वराजाद्वारा उक्साइएका र प्रलोभनमा पारिएका केही अराजक व्यक्तिबाट काठमाडौँ, तीनकुने आसपास भएको हत्या र विध्वंसका दुस्परिणामहरु सतहमा आउने क्रम रोकिएको छैन ।
यसै सन्दर्भमा २०८१ चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको विध्वंस चलिरहेको दिन कोटेश्वर बहुमुखी क्याम्पसमा BBS 3rd Year अध्ययनरत छात्रा रेविका खत्री आफ्नो अपिसबाट कोठा फर्किने क्रममा दिउँसो ३ बजेतिर बालग्राम, कोटेश्वर नजिक गोली लागेर गम्भीर घाइते भई सिभिल अस्पताल, बानेश्वरको सघन उपचार कक्षमा उपचार भइरहेको खबरले स्तब्ध तुल्याएको छ । हामी रेविका खत्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको निःशुल्क उपचारको लागि राज्यसँग माग गर्दछौँ । विज्ञप्ति। 
हामी स्पष्ट छौं कि यो सम्पूर्ण घटना कथित पूर्वराजा र उनका अराजक समर्थकको मुर्खताको दुस्परिणाम हो । त्यसैले गएको १५ गते तीनकुनेको विध्वंसमा सहभागी सबैलाई नियन्त्रणमा लिएर सरकारले निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ । निर्दोष छात्रामाथि गोली चलाउने र तीनकुने आसपास जति पनि हत्या र विध्वंसात्मक घटना गराइएका छन् ती घटनामा संलग्न सबै अपराधीको तुरुन्तै पहिचान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछौं ।अन्यथा विद्यार्थीको हकहित, जनधनको सुरक्षा र गणतन्त्रको रक्षार्थ अखिल (समाजवादी) कठोर प्रतिवादका लागि बाध्य हुनेछ ।











