काठमाण्डौ, १७ कार्तिक २०८२ – टङगाल श्रीकृष्ण मन्दिरको प्राङगणमा बिद्यारामगङ्गा प्रतिष्ठान, आचार्य खेमराज केशवशरण प्रतिष्ठान र शरणागति अन्तर्राष्ट्रिय आध्यात्मिक प्रतिष्ठानको संयुक्त आयोजनामा एक भव्य सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा साहित्य, संस्कृति, इतिहास, शिक्षा र समाजसेवामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरु -लाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रा. मुकुन्द शरण उपाध्यायज्यू र सदम्पतीलाई शरणागति अन्तर्राष्ट्रिय आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष श्री हरिप्रसाद भट्टराईज्यूले सम्मानपत्र, माला र दोसल्ला अर्पण गरी सम्मानित गर्नुभयो।
त्यसैगरी, संस्कृतिविद् र इतिहासकार डा. गोविन्द टण्डनज्यू, कथाकार र पूर्व राजदूत मधुवन पौडेलज्यू, र प्राध्यापक तथा कवि प्रयागराज भट्टराई बाशिष्टज्यूलाई क्रमशः आचार्य खेमराज केशवशरण प्रतिष्ठान र विद्यारामगङ्गा प्रतिष्ठानद्वारा सम्मानित गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिहरू र सम्मानित व्यक्तित्वहरूले आफ्नो अनुभव र भावनात्मक मन्तव्य साझा गर्दै समर्पण र योगदानको महत्त्वलाई रेखांकित गरे। डा. कवि कृष्ण प्रसाद भट्टराई र प्रा. डा. कवि समिक्षक होम प्रसाद भट्टराई (गृहस्थि)ले सम्मानित व्यक्तित्वका बारेमा व्याख्यान प्रस्तुत गरेका थिए।
विराग प्रतिष्ठानले यस कार्यक्रममा प्रा.डा.कवि समिक्षक होम प्रसाद भट्टराई, प्रा.मुकुन्दराज दाहाल, तारानाथ पौडेल र चन्द्र कुमारी वास्कोटालाई विशेष योगदानको कदर गर्दै सम्मानित गरेको थियो। कार्यक्रमको सफलतामा विराग प्रतिष्ठानका संस्थापक सचिव नवराज भट्टराईले महत्वपूर्ण भूमिका निभाएका थिए, जबकि महासचिव केशव भट्टराईले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने जानकारी दिनुभयो। यस सम्मान कार्यक्रमले नेपाली समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको योगदान र योगदानको महत्त्वलाई पुनः उजागर गर्ने काम गर्यो।












