काठमाडौं २०८२ माग२९ । काठमाडौं, कागेश्वरी मनोहरा–५ थलीमा नेपाली कम्युनिस्ट पार्टीको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न भएको छ। काठमाडौं–२ का चर्चित उम्मेदवार नितेश पौडेलको उपस्थितिमा सम्पन्न बैठकले निर्वाचन तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ। बैठकले आगामी फागुन २ गते ५५१ सदस्यीय निर्वाचन परिचालन समितिको घोषणा गर्ने तयारी गरेको जानकारी दिएको छ। प्रस्तावित समितिको संयोजकका रूपमा पार्टीका केन्द्रीय सदस्य कृष्णराज सुबेदीको नाम अघि सारिएको छ।
बैठकमा पार्टीका पुराना जुझारु नेता प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले वर्तमान राजनीतिक परिस्थितिलाई नेपालको इतिहासकै गम्भीर राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै भने, “युद्ध र आन्दोलनबाट प्राप्त संविधान आज कोमामा पुगेको छ। यो चुनाव सामान्य प्रक्रिया होइन, जनमत सङ्ग्रहजस्तै ऐतिहासिक अवसर हो।” उनले पार्टी र राष्ट्रको अस्तित्व जोगाउन संगठित र सचेत भएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे।
काठमाडौं–२ का उम्मेदवार नितेश पौडेलले पार्टीलाई जीवित र सशक्त बनाइराख्नु आफ्नो पहिलो दायित्व भएको उल्लेख गर्दै प्रतिबद्धता व्यक्त गरे, “म कुनै गलत गतिविधिमा संलग्न हुने छैन। हामी युक्रेन बन्ने होइनौं। नेपाल रहेन भने नेपाली रहने छैनौं। हाम्रो जित सुनिश्चित छ।” उनले जनताको विश्वास जित्न इमानदार र अनुशासित अभियान सञ्चालन गरिने बताए।
बैठकमा नेता लिलामणी पाेेखरेल,शशी श्रेष्ठ, कुमार पौडेल, भगिरथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता कमरेड रामप्रसाद खनालले गरेका थिए। बैठकले संगठन सुदृढीकरण, घरदैलो कार्यक्रम, युवा परिचालन र मतदाता शिक्षालाई प्राथमिकतामा राख्दै चुनावी अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णयसमेत गरेको छ।













