काठमाडौं । चलचित्रको घोषणा भयो, छायांकन सुरु भयो र अन्तिम चरणमा पनि पुग्यो । तर, निर्माण पक्षले एउटा कुरा भने निकै सचेततापूर्वक गोप्य राख्यो, चलचित्रका कलाकार । कुन कलाकारले अभिनय गरिरहेका छन् भन्ने कुतूहलताका बीच चलचित्र ‘बाः एक योद्धा’ को निर्माण टिमले अन्ततः आफ्ना मुख्य पात्रहरू सार्वजनिक गर्न थालेको छ । यसअघि कलाकारका बारेमा कुनै पनि औपचारिक जानकारी नदिएको निर्माण पक्षले छायांकनको अन्तिम समयमा आएर अभिनेता दिव्यदेव पन्तलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी गराएको हो ।
गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको यस चलचित्रले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर ‘सस्पेन्स’ कायम राखेको थियो । तर, केही दिनअघि छायांकन सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापाका तस्वीरहरू सार्वजनिक भएसँगै कलाकारका विषयमा रहेको अन्योल हटेको थियो । झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । विशेष कुरा त के छ भने, वास्तविक जीवनका यी आमा-छोरी चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन् । अब दिव्यदेवको नाम सार्वजनिकपछि चलचित्रको कलाकार टोली निकै सन्तुलित र बलियो देखिएको छ । निर्माण पक्षले उनको के कस्तो भूमिका हो भन्ने बारेमा अझै खुलाएको छैन ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन् । संगीत र गायनमा स्थापित लम्सालले यो चलचित्रको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन् । लामो समयको सांगीतिक यात्रापछि उनी सामाजिक र भावना प्रधान कथा बोकेर निर्देशनको मैदानमा उत्रिएका हुन् ।यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ । नामले नै स्पष्ट पारेझैँ, यो एक बाबुको कथा हो । एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।
निर्देशक लम्सालका अनुसार, यो केवल मनोरञ्जन मात्र नभई बाबुको अस्तित्व र महत्त्वलाई दर्शाउने एक शुद्ध सामाजिक र भावनात्मक सिनेमा हो ।‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका निर्माता वसन्त लम्साल हुन् । संगीतकार तथा गायक समेत रहेका वसन्तले यसअघि विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरिरहेका छन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् । हाल काठमाडौंका विभिन्न स्थानमा चलचित्रको अन्तिम चरणको छायांकन भइरहेको छ । छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्ष (पोष्ट-प्रोडक्सन) को काम हेरेर प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ ।











