काठमाडौं। नेपाल टेलिकमका सेवाग्राहीले अब कम्पनीका सिमकार्ड लगायत अन्य आवश्यक सामग्री हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन्। यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार (असार १८) सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्री ढुवानी र वितरण गरिनेछ।
सम्झौतापत्रमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्। सम्झौता समारोहमा निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटाउँदै घरदैलोमै सेवा उपलब्ध गराउने अभियानको महत्वपूर्ण कदम भएको बताए। उनले यस सहकार्यबाट सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरिन्। महानिर्देशक पंगेनीले पनि सरकारी सेवा नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यअनुसार विभागले काम गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमसँगको सहकार्यले सेवा प्रवाह अझ प्रभावकारी हुने बताइन्।
सरकारी स्वामित्वका दुई संस्थाबीचको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जाल प्रयोग गरी नेपाल टेलिकमको सेवा थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ।






