काठमाडौं । कुसे औँसी २०८३ तथा बुवाको मुख हेर्ने दिनका अवसरमा जगडोल क्षेत्रमा सम्पन्न जात्राका क्रममा जम्मा भएको फोहोर एकै दिनमा संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको छ।
जगडोल यज्ञडोल सामुदायिक उपभोक्ता वन व्यवस्थापन समितिको मुख्य आयोजनामा सम्पन्न सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मासिक १०० अभियान नेपाल, Blood Donors Association Nepal (BLODAN) गोकर्णेश्वर नगर समिति, Joseph Open Scout Crew, लायन्स क्लब लगायत विभिन्न क्लब, संघ–संस्था तथा स्वयंसेवीहरूको सहभागिता रहेको थियो।
अभियानमा विभिन्न क्षेत्रबाट गरी करिब १५० देखि २०० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले जात्राका क्रममा जम्मा भएको फोहोर सामूहिक रूपमा संकलन गरी व्यवस्थित स्थानमा पठाएका थिए।
सफाइसँगै वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न भएको छ भने वृक्षरोपणका लागि आवश्यक बिरुवा लायन्स क्लबले उपलब्ध गराएको थियो।
ठूलो संख्यामा सेवाभावी हातहरू एकै ठाउँमा जुटेर छोटो समयमा सरसफाइ सम्पन्न गरेपछि जगडोल क्षेत्र सफा तथा व्यवस्थित बनेको छ।
समितिले अभियानमा सहयोग तथा सहभागिता जनाउने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मासिक १०० अभियान नेपाल, BLODAN, स्काउट, लायन्स क्लब तथा विभिन्न क्लब, संघ–संस्था र सम्पूर्ण स्वयंसेवीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
सामूहिक प्रयासबाट सम्पन्न यस अभियानले स्वच्छ वातावरण, स्वस्थ समुदाय र साझा जिम्मेवारीको सन्देश दिएको छ। जगडोलको प्राकृतिक सौन्दर्य र स्वच्छता कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।


