काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। आज बुधबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाण्डेलाई पक्राउ गरेको हो। उनलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी जाँचका क्रममा नियन्त्रणमा लिइएको बताइएको छ। Smart Telecom (स्मार्टसेल) को सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको प्रकरणमा अनुसन्धान गर्दै आएको सीआईबीले लिलामी प्रक्रियामा संलग्नता देखिएको भन्दै पाण्डेलाई पक्राउ गरेको जनाएको छ।

स्मार्टसेलले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरण बाट दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएको थियो। तर कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि कानुनअनुसार अनुमति स्वतः रद्द हुने व्यवस्था लागू भएको थियो। त्यसपछि कम्पनीका दूरसञ्चार पूर्वाधार, संरचना तथा सम्पत्ति प्राधिकरणको नियन्त्रणमा गएको थियो। सीआईबीका अनुसार नियन्त्रणमा रहेको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी ठगी तथा आपराधिक विश्वासघात गरिएको आरोपमा अनुसन्धान भइरहेको छ। यस प्रकरणमा स्मार्टसेलका अध्यक्ष सर्वेश जोशी तथा सञ्चालकहरू पलिना श्रेष्ठ र नरेन्द्र उलाक यसअघि नै पक्राउ परिसकेका छन्।










