काठमाडौं। सानिगाड हाइड्रो लिमिटेड ले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता शेयर बिक्री खुला गर्न लागेको हो, जसको कुल मूल्य ४६ करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन छिटोमा जेठ २० गतेसम्म र ढिलोमा जेठ २८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
कम्पनीले सञ्चालन गरेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको बताइएको छ।
आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष तथा डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले पाएको छ।











