काठमाडौं, ११ जेठ । प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा हुनुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । प्रहरी महा-निरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगर -माथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल हुनुभएको थियो ।











