काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८औँ वार्षिक साधारणसभा आज (२०८२ पुस ३० गते) राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरधनीहरूको उपस्थिति रहेको थियो। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको छ।
सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धी वातावरणका बाबजुद सेवाभावलाई प्राथमिकतामा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार गरिएको बताउनुभयो। डिजिटल नेपाल अवधारणाअनुसार अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने दिशामा कम्पनी अग्रसर रहेको उहाँको भनाइ थियो।
अध्यक्ष अर्यालका अनुसार कम्पनीले समीक्षा अवधिमा कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै करिब ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिमा कर तथा शुल्कबापत १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्वका रूपमा बुझाइएको छ। भावी दिनमा मेघा परियोजना सञ्चालनका लागि आवश्यक परे बोनस सेयरसमेत प्रदान गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। उहाँले राजधानीसहित ठूला शहरहरूबाट छिट्टै 5G सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै 4G/LTE मा आधारित VoLTE तथा FTTH सेवा विस्तारलाई तीव्रता दिइएको बताउनुभयो। २०८२ असोज मसान्तसम्म सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा 4G/LTE सेवा पुगेको र ७७ वटै जिल्लामा FTTH सेवा विस्तार भइसकेको जानकारी दिइयो।
हालसम्म 2G तर्फ ४,५४२, 3G तर्फ २,९९४ र 4G तर्फ ४,४३७ वटा BTS सञ्चालनमा रहेका छन्। ग्रामीण दूरसञ्चार विकास कोष (RTDF) को सहयोगमा मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने मार्गहरूमा अप्टिकल फाइबर विस्तार गरिएको र २०८१/८२ को अन्त्यसम्म कुल ८,८३४ किलोमिटर नेटवर्क विस्तार भएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो। साधारणसभामा शेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष अर्यालले सुझावहरू क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो। सभाबाट पारित भएअनुसार नगद लाभांश आजै (२०८२ पुस ३० गते) देखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरूलाई वितरण गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। विज्ञप्ति -:












