काठमाडौं, माघ २१ । नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र काठमाडौं पुतलीसडकमा रहेकोे कान्तिपुर सिटी कलेज (केसीसी) बीच उद्योग र शैक्षिक क्षेत्रबीचको दूरी घटाउने उद्देश्यका साथ रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यो क्याम्पस सञ्चालनमा आएको हो । एनजीसीसीआई सचिवालय नक्साल काठमाडौँमा आयोजित कार्यक्रममा एनजीसीसीआईका अध्यक्ष सन्तोषचन्द्र कुँवर र कान्तिपुर सिटी कलेजका अध्यक्ष डा. प्रल्हाद कार्कीले समझदारीपत्रमा हस्ताक्षर गरेको पत्रकारिताका प्राध्यापक राजिव तिमिल्सिनाले बताए । साझेदारीको उद्देश्य केसीसीका विद्यार्थीहरूको अनुसन्धान क्षमता, सीप विकास तथा रोजगारी र योग्यतालाई जर्मनीसँग आबद्ध गराउनु रहेको उनले बताए ।
समझदारीपत्रमा व्यापार, लगानी, अर्थशास्त्र तथा व्यवसायसम्बन्धी विषयहरूमा संयुक्त अनुसन्धान तथा अध्ययन गर्ने; जर्मनीबाट सिनियर एक्सपर्ट सर्भिस (एसईएस) को सहजीकरण गरी कार्यशाला गर्ने, अनुसन्धान परामर्श तथा पाठ्यक्रम विकास गर्ने; एनजीसीसीआईका सदस्य संस्थाहरूमा केसीसीका विद्यार्थी तथा नयाँ स्नातकहरूका लागि इन्टर्नशिप तथा ट्रेनीशिपका अवसर प्रदान गर्ने; संयुक्त सेमिनार गर्ने, सम्मेलन गर्ने, गोलमेच संवादको आयोजना गर्नेका साथै ज्ञान आदानप्रदान र स्रोतसाधनमा सहकार्य गर्ने विषयहरू समेटिएका छन् । हस्ताक्षर समारोहमा बोल्दै एनजीसीसीआईका अध्यक्ष कुँवरले भने ‘यो साझेदारी नेपाली स्नातकहरूलाई उद्योगमैत्री बनाउने दिशामा महत्वपूर्ण कदम हो । केसीसीको शैक्षिक उत्कृष्टता, जर्मन मापदण्डको विशेषज्ञता तथा हाम्रो सदस्य कम्पनीहरूलाई जोडेर नेपालका अर्थतन्त्रसँग सान्दर्भिक उच्चस्तरीय अनुसन्धान र वास्तविक करियर मार्ग निर्माण गर्ने हाम्रो लक्ष्य छ ।’
कान्तिपुर सिटी कलेजका अध्यक्ष डा. प्रल्हाद कार्कीले भने ‘एनजीसीसीआईसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसी छौै । यस समझदारी पत्रले हाम्रा विद्यार्थीहरूलाई व्यावहारिक अनुभव, अन्तर्राष्ट्रिय विज्ञहरूको मार्गदर्शन तथा उत्कृष्ट रोजगारीका अवसर प्रदान गर्ने छ । यो हाम्रो ‘रोजगारी योग्य र विश्वस्तरीय दक्ष जनशक्ति उत्पादन’ गर्ने दृष्टिकोणसँग पूर्णरूपमा मेल खान्छ ।’ समारोहमा एनजीसीसीआईका कोषाध्यक्ष शुभाशिष थपलिया, सह–कोषाध्यक्ष गोपालदास मानन्धर, एनजीसीसी.आईका सल्लाहकार डा.गोपाल प्रसाद तिवारी तथा कान्तिपुर सिटी कलेजका विशिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धमा आईटी, इञ्जिनियरिङ र व्यवस्थापन विषयहरु अध्यापन गराउदै आइरहेको कान्तिपुर सिटि कलेजले पत्रकारितामा स्नातकोत्तर तहको पढाई सुरु गरेको २६ वर्ष भइसकेको छ । क्याम्पसले बीटेक इन अल, बीई कम्प्युटर, बीबीए, बीसीए, पोस्ट ग्राजुयेट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन लगायतका विषय पढाउँदै आएको छ ।











