सुडानमा मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
राजधानी खार्तुमका साथै वरपरका क्षेत्रमा हवाई हमला र झडप जारी रहेको उनीहरूले जनाएका छन्। यसअघिका युद्धविराम सम्झौता पूर्णतः कार्यान्वयन नभएकाले आजदेखि प्रारम्भ हुने युद्धविरामका बेला पनि झडप नहोला भन्नेमा सुडानी विश्वस्त हुन सकेका छैनन्।
नर्वेली शरणार्थी परिषद्का कार्ल स्केम्बरीले आधिकारिक घोषणालाई युद्धरत पक्षले वेवास्ता गर्दै गोली प्रहार र बमबारीका घटना जारी राखेका तथा त्यसले लाखौँ नागरिकको ज्यान जोखिममा पारेको ट्वीटरमा लेखेका छन्। विगतका वाचा पालना नहुँदा मानवीय सहायताकर्मी, बालबालिका र अन्य मारिएका तथा अस्पतालहरू ध्वस्त भएकामा उनले दुःख व्यक्त गरेका छन्।
अप्रिल १५ देखि सुडानका सैन्य प्रमुख अब्देल फताह अलबुर्हानको नेतृत्वमा सेना र उनका पूर्वसहायक मोहम्मद हमदान डग्लो नेतृत्वको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको युद्धमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजारभन्दा बढी घाइते भएका छन्। दश लाखभन्दा बढी भाग्न बाध्य भएका छन्। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?