काठमाडौं, २ असोज । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी एक जना महिलाको दुई तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बागबजार ठेगाना भएका ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगंज महानगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी, भारत पश्चिम बंगाल मेधिनापुर उदयचोक घर भई काठमाडौं महानगरपालिका-२३ बस्ने ४७ वर्षीय शक्ति भौमिक र भारत महाराष्ट्र सोलापुर गोरडवानी घर भई काठमाडौं महानगरपालिका-२२ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।
ती महिलाले घाँटीमा लगाई राखेको करिब २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी फरार रहेको घटना अनुसन्धानको क्रममा संलग्नता खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूमध्ये सुरज मोटरसाइकल चालक, अनवर मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने, शक्ति सुन बेच्न सहयोग गर्ने र सचिन सुन खरिद गर्न संलग्न रहेको उक्त कार्यालयले जनाएको छ ।
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ-
जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राज कुमार गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् ।
उनीहरूले १ जनालाई वैदेशिक रोजगारका लागि जापान पठाइ कुकमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं घट्टेकुलोबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।