दोलखा, १२ असोज २०८०। सुन जस्तो देखिने पहेलो धातु ४ किलो-ग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् ।
बिगु गाउँपालिका-३ जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशर बहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरी घटनास्थल वरपरबाट केशर, पेम्बा र माधवलाई बुधबार पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका नुर्वु छिरीङ र सुनमालालाई भिमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट ८ दिन म्यादथप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस्।
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ
कैलाली, गोदावरी नगरपालिका-९ सेहरी भन्ने गाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ वेलादेवीपुर बस्ने ३५ वर्षीय हरिद्वारी रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित बिर्तामोड नगरपालिका-८ बस्ने १९ वर्षीय बिवेक जवेगुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आईरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्सा, बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ४२ वर्षीय लोटन राउत र ४० वर्षीय देबलाल साह कलवार रहेका छन् । प्रहरी चौकी प्रसानीभाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ३५ ट्याब्लेटसहित पर्सा छिपरमाइ गाउँपालिका-२ जयमंगलपुर बस्ने २८ वर्षीय सुखलाल मुखियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप समेतबाट खटिएको प्रहरीले ग.१ ख ००८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको हो ।
मोरङ, केराबारी गाउँपालिका-१० सुनौलो चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्रामसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० बस्ने २३ वर्षीय बिजय मगर, २६ वर्षीय असिम देवान, ३३ वर्षीय असिम मगर र सोही गाउँपालिका-७ बस्ने २४ वर्षीय अबिसेक लिम्बु रहेका छन् । लागूऔषध ओसारपसार तथा बिक्री वितरण भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, जहदा गाउँपालिका-१ यादव टोलस्थित बाँसको घारीबाट बेबारीसे अवस्थामा राखिएको अवैध लागूऔषध गाँजा करिब ४ केजी बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा बुधनगर र अस्थायी प्रहरी पोष्ट भटडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।