१८ असोज काठमाडौं । माथिल्लो मैलुङ खोलाले आज देखि सर्वसाधारणका लागि आइ पी ओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइ पी ओ जारी गर्न लागेको हो । यो मध्ये १०% अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँड भएको छ । आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयर थप गरेर सर्वसाधारण -लाई आइ पी ओ ल्याइएको हो ।
बाँकी १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा लगानी – कर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्छन् । यो आइ पी ओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ भने, यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सकिन्छ ।