सन्तोष प्रसाद तिवारी।
१४ वैशाख काठमाडौं। नेपालकाे बैंकहरुको पनि बैंक केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले भव्य समारोहका साथ ६९ औं वार्षिकोत्सव मनाएको छ । बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा आफ्नै प्राङ्गणमा ६८ वर्ष पार गरी ६९ औं वर्षमा टेकेकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान सहित वार्षिकउत्सव सम्पन्न गरेको हो । नेपाल राष्ट्र बैंकको स्थापना केन्द्रीय बैंककाे रुपमा वि.स. २०१३ साल वैशाख १४ गते भएको थियो। यस बैंकका प्रथम गभर्नर हिमालय शमशेर जवरा राणा रहेको थिए।
राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत् अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवंम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच बिस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्व-साधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्ष्यित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ । वार्षिकोत्सवमा सहभागी हुनका लागि नेपाल सरकारका अर्थमन्त्री , राष्ट्र बैंकका गभर्नर , पूर्वगभर्नरहरू, विभिन्न संघसंस्थामा आवद्ध कर्मचारी, पूर्वडेपुटी गभर्नरहरू, वाणिज्य बैंकका सिइओ, पूर्व विशिष्ट श्रेणी तथा पूर्वप्रथम श्रेणीका अधिकृतहरू, अर्थविद्हरु, सुरक्षा कर्मी, कर्मचारी संगठनका पदाधिकारीहरु, पत्रकार लगायतका बहुसंख्यक सहभागीहरूको उपस्थिति रहेको थियो।











