काठमाडौं । नेपाल टेलिकम ले ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा उच्च गतिको 4G सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार सेवा वैशाख २१ गतेदेखि सुरु गरिएको हो। पाथीभरा मन्दिर र आसपासका क्षेत्रमा नेटवर्क विस्तार भएसँगै तीर्थयात्री तथा स्थानीय बासिन्दाले सहज रूपमा इन्टरनेट तथा फोन सेवा उपयोग गर्न सक्ने भएका छन्। अब दर्शनका लागि पुग्ने भक्तजनले परिवारसँग सम्पर्क राख्न, सामाजिक सञ्जालमार्फत फोटो तथा भिडियो आदानप्रदान गर्न र लाइभ अपडेट दिन सक्ने भएका छन्। साथै, दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी पनि सूचना प्रविधिको पहुँचमा जोडिएका छन्।
नेपाल टेलिकमले उक्त सेवा विस्तारले शिक्षा, स्वास्थ्य तथा आपतकालीन अवस्थामा सम्पर्क स्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यसले पर्यटन प्रवर्द्धन तथा स्थानीय व्यवसायलाई डिजिटल माध्यममार्फत विस्तार गर्न पनि टेवा पुग्ने जनाइएको छ। कम्पनीले देशका दुर्गम तथा विकट क्षेत्रमा समेत आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरूप यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।











