१३ कार्तिक, काठमाडौं ।। प्रेस सेन्टर नेपालले सरकारी सञ्चार माध्यममा भएको पुर्वाग्रही व्यवहार विरुद्ध प्रेस विज्ञप्ति निकालेको छ। प्रेस विज्ञप्तिमा आफ्नो प्रस्तुतिलाई प्रष्ट पार्दै यस्तो प्रतिक्रिया जनाएको छ। विज्ञप्तिकाे पुर्ण पाठ-: प्रेस सेन्टर नेपाल स्वतन्त्र श्रमजीवी व्यावसायिक पत्रकारहरुको संगठन हुनुको नाताले यो संगठन पत्रकारिता क्षेत्रमा हुने हरेक खाले समस्या, विकृति विसङ्गतिहरुको विरुद्ध शसक्त रुपमा अग्रमोर्चामा रही डटिरहेको सर्वविदितै छ । सरकार परिवर्तनसँगै सरकारी सञ्चारमाध्यमले दिने समाचार तथा समाचारमुलक सामग्री सरकारपक्षीय राजनीतिक दलको प्रभावमा तयार भइ प्रकाशन एवम प्रशारण गर्ने कार्य स्वतन्त्र पत्रकारिताको मूल्य मान्यता अनुकुल देखिदैँन । यस्ता गतिविधिले सरकारी सञ्चार माध्यमको विश्वसनीयतामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । व्यवस्थापन र सम्पादकले राजनीतिक आस्थाका आधारमा समाचारमा प्रभाव पार्ने र कार्यरत पत्रकार तथा विभागीय कर्मचारीमाथि गरिने विभेदपूर्ण व्यवहारले उनीहरुको मनोबल खस्किने मात्र नभई यी सञ्चारमाध्यमको कार्यसम्पादन र विश्वसनीयतामा समेत गम्भीर आघात परेको छ ।
यसरी राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पत्रकारको नियुक्ति, सरुवा, बढुवा, घटुवा, निस्कासन, सेवा सुविधा बढाउने, घटाउने जस्ता कार्यले पेसागत सुरक्षामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ । सरकारी सञ्चारमाध्यमका व्यवस्थापन पक्षका यस्ता व्यवहारले संस्थालाई नै धरासायी बनाउने भएकाले यस्ता हर्कतप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । अविलम्ब यस्ता हर्कतमाथि सुधार गर्न व्यवस्थापन पक्षसँग जोडदार माग गर्दछौँ । अन्यथा श्रमजीवी पत्रकार तथा कर्मचारीको हक हित तथा पेशागत सुरक्षाका साथै सार्वजनिक सञ्चार संस्थानहरुको प्रतिष्ठाको सुरक्षाका लागि प्रेस सेन्टर नेपाल जुनसुकै कदम चाल्न तयार रहेको अवगत गराउँदछौँ ।