संगीता खतिवडा, काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा सामाजिक रूपमा सक्षम बनाउने उद्देश्यसहित मासिक १०० अभियान नेपालले आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयमा आयोजना गरेको उत्प्रेरणामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष श्री सन्जय पोखरेल, वर्तमान अध्यक्ष बिकास श्रेष्ठ, सचिव संगिता सुवेदी, तथा सदस्य शिव शिह ठकुरीको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन सचिव संगिता सुवेदीले गर्नुभएको थियो। आफ्नो विद्यालय जीवन यसै विद्यालयमा बिताएपछि पुनः यही ठाउँमा आएर कार्यक्रम सञ्चालन गर्न पाएको अवसर साथै विद्यार्थीहरूलाई उत्प्रेरणा दिन पाउँदा अत्यन्त हर्षित तथा विभोर भएको उनले बताइन्। कार्यक्रममा मोटिभेशनल कक्षा अध्यक्ष बिकास श्रेष्ठले प्रस्तुत गर्दै विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, अनुशासन, सकारात्मक सोच र आत्मविश्वासका विषयमा प्रेरित गर्नुभएको थियो।
यस्तै, संस्थापक अध्यक्ष सन्जय पोखरेलले अभियानको उद्देश्य, विगतका उपलब्धि र आगामी योजनाबारे विस्तृत मन्तव्य प्रस्तुत गर्दै विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व र अग्रसरताका दिशामा अघि बढ्न प्रेरित गर्नुभयो। विद्यार्थीहरूको सक्रिय सहभागीता रहेको कार्यक्रममार्फत नेतृत्व विकास, सहयोगभावना, सामाजिक चेतना, मुल्य-मान्यता तथा व्यवहारिक सिकाइका पक्षमा मार्गदर्शन गरिएको आयोजकले जनाएको छ। मासिक १०० अभियान नेपालले विगत दशकयता सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति, जेष्ठ नागरिक सम्मान, उत्प्रेरणामूलक कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ।












