काठमाडौं । नेपाल बैंक लिमिटेड ले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई विभिन्न सेवा तथा सुविधामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले विभिन्न होटल र स्वास्थ्य संस्थासँग सम्झौता गरेको जनाएको छ।
बैंकले पोखराको लेकसाइडस्थित डालिया होटल प्रा.लि. सँग सम्झौता गर्दै बैंकका ग्राहक तथा कर्मचारीलाई होटलका विभिन्न सेवामा १० प्रतिशत देखि ३५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र होटलका तर्फबाट बिक्री निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेका हुन्।
त्यसैगरी, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका स्थित कोटबारी होटल प्रा.लि. सँग गरिएको अर्को सम्झौताअनुसार बैंकका कर्मचारी, तिनका परिवार तथा ग्राहकहरूले होटलका विभिन्न रिसोर्ट सेवामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी तथा होटलका तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका थिए। यस्तै, नेपाल बैंक लिमिटेड ले विराटनगर स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. सँग पनि स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ। नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधिमार्फत ग्राहक सेवा विस्तार गर्दै प्रतिस्पर्धी रूपमा अघि बढिरहेको उल्लेख गरेको छ।











