२०८३ कार्तिक ०४ पटाप काठमाडौं । शंखरापुर नगरपालिका–२, पटापमा आयोजित तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८३ कार्तिक २ र ३ गते भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन जिल्ला भलिबल संघका अध्यक्ष रामप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो। प्रतियोगितामा विभिन्न टिमबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा पटाप टाइगर प्रथम, वाईबा टिम द्वितीय, नोभा युथ तृतीय र लामा टोल टिम सान्त्वना स्थान हासिल गर्न सफल भए।
व्यक्तिगत विधातर्फ प्रेम तामाङ बेस्ट स्पाइकर, सनिस लामा बेस्ट सेटर, सागर लामा बेस्ट सर्भर, निशान दङ्गाल उदयमान खेलाडी तथा प्रदीप तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताको समापन समारोह शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. १ का अध्यक्ष बाबुराम दङ्गाल, पूर्ववडा अध्यक्ष जीवन लामा, विभिन्न राजनीतिक दलका नगरस्तरीय नेताहरू, साझा पाईला नेपालका अध्यक्ष नमराज घलानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितालाई सफल बनाउन आर्थिक तथा भौतिक सहयोग पुर्याउने सहयोगी दाताहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ। साथै, प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानपत्र, खादा र मालासहित सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन पूर्णराज लामाले गर्नुभएको थियो भने प्रतियोगिताको सभापतित्व शिक्षक, सामाजिक अभियन्ता तथा प्रतियोगिता संयोजक श्याम बहादुर तामाङ थिङले गर्नुभएको थियो।
आयोजक समितिका अनुसार प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रतिको रुचि र उत्साह बढाउनुका साथै आपसी सद्भाव, सामाजिक एकता र सहकार्यको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सहयोगी दाताहरूको आर्थिक तथा भौतिक सहयोगमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।







