काठमाडौ, असार २९ । लेखापढी व्यावसायीहरुको छाता संगठन नेपाल लेखापढी व्यावसायी एसो. सि. एसनले कित्ताकाटसम्बन्धी व्यवस्था सहज बनाइदिन सरकारलाई आग्रह गरेको छ । एसोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न प्रावधान देखाई सरकारले कित्ताकाटसम्बन्धी व्यवस्थालाई जटील बनाउँदै लगेकोमा आपत्ति जनाइएको छ । कित्ताकाटसम्बन्धी व्यवस्था असहज हुँदा धेरै सेवाग्राही मर्कामा परेको भन्दै एसोसिएसनले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । एसोसिएनले नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग ववरमहल, काठमाडौंलाई पनि बोधार्थ दिएको छ ।
दाहालद्वारा प्रकाशित विज्ञप्तीमा कित्ताकाटसम्बन्धी उचित निर्देशन नभएमा वा नियमावलीमा भएको यो अस्पष्टतालाई नहटाएको खण्डमा मातहतका कार्यालहरुले नियमावली अनुसार कित्ताकाटको सेवा प्राप्त गर्न चाहने सेवाग्राही जनताले सहज सेवा प्राप्त गर्नबाट बञ्चित हुनुपर्ने वा उक्त सेवा सम्बन्धमा अन्यौल सिर्जना हुने वा नियमसंगत रुपमा सेवा प्रवाह नगर्ने कार्य हुनसक्ने खतरा भएकाले सरकारको ध्यानाकर्षण गराइएको भनिएको छ । एसोसिएनले नियमावलीमा भएको प्रतिबन्धात्मक वाक्यको अपव्याख्या भएकाले सेवा प्रवाहमा समस्या भएको पनि जनाएको छ । एसोसिएसनले आफूहरुका साझा मुद्यामा पटकपटक सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएको छ ।







