काठमाण्डौं, असोज ३१ / नेपाल टेलिकमले देशका दुई प्रमुख, तर दुर्गम पर्यटकीय गन्तव्यहरूमा सञ्चार सेवा विस्तार गरेको छ। मनाङको तिलिचो बेस क्याम्प र दोलखाको छो-रोल्पा ट्रेकिङ मार्गको नागाउँमा मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो। मनाङ जिल्लाको उच्च हिमाली क्षेत्र पर्ने तिलिचो बेस क्याम्पमा मङ्गलबारदेखि 2G र 4G मोबाइल सेवा सुरु भएको छ। करिब ४३५० मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत सेवा उपलब्ध गराएको हो। यो सेवा खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो तालसम्म पुग्ने पदयात्रु, स्थानीय बासिन्दा र व्यवसायीहरूका लागि सञ्चारको भरपर्दो माध्यम बन्ने अपेक्षा गरिएको छ। विज्ञप्तिकाे पुर्णपाठ-:
नेपाल टेलिकमका अनुसार, यस सेवाबाट पर्यटकलाई स्वास्थ्य समस्या आएमा उद्धार कार्य सहज हुने छ भने व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुन पनि मद्दत पुग्नेछ। त्यसैगरी, दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने छो-रोल्पा ट्रेकिङ मार्गको प्रमुख बस्ती नागाउँमा असोज २८ गतेदेखि V-SAT प्रविधिबाट भ्वाइस सेवा सञ्चालनमा आएको छ। ४१९० मिटरको उचाइमा रहेको यो सेवा बेदिङ–ना–नागाउँ–छो-रोल्पा ताल–दूधकुण्ड–यालुङ बेसक्याम्प–टासी लेप्चा पास बेसक्याम्प क्षेत्रका बासिन्दा र पर्यटकलाई लक्षित गरिएको छ।
टेलिकमका अनुसार, पर्यटकिय सिजनका कारण प्राविधिक कर्मचारीहरूलाई कामदार अभाव र असहज परिस्थितिको सामना गर्नु परेपनि उनीहरूको अथक प्रयासले सेवा सञ्चालन सम्भव भएको हो।नेपाल टेलिकमले भौगोलिक रूपमा विकट तथा सेवा प्रवाहमा कठिनाइ रहेका क्षेत्रहरूमा पनि समान रूपमा दूरसञ्चार सेवा पुर्याउने प्रतिबद्धता जनाउँदै आएको छ। यस किसिमको सेवा विस्तारले ग्रामीण तथा पर्यटकीय क्षेत्रमा सञ्चार पहुँच अभिवृद्धिमा ठोस योगदान पुर्याउने विश्वास गरिएको छ।











