विषयसन्दर्भ
शाब्दिक अर्थमा सुशासन भनेको शासन गर्ने विषयसँग सम्बन्धित छ । सहकारीको विश्वव्यापी मुल्य मान्यता र सिद्धान्त बमोजिम सहकारीहरु सञ्चालन गर्नु नै सहकारीमा सुशासन हो ।सुशासन यस्तो प्रक्रिया हो जसमा सहकारी संघ संस्थाहरूले उत्तरदायित्व,पादर्शीता,सहभागिता जस्ता तत्वहरुका निर्णय प्रकृयामा उच्च अभ्यास गरेका हुन्छन् ।।
सुशासनको ढाँचाभित्र संस्था सञ्चालन प्रकृयामा अवलम्वन गरेका प्रक्रियाहरू,बिभागीय निर्देशनहरु, सहकारीका मुल्य मान्यता र सिद्धान्तहरु पर्दछन् ।वर्तमान विश्व परिवेश नियाल्दा वित्तिय संकटको भुमरीले विश्वका विभिन्न देशहरु आक्रान्त हुन पुगेका छन् । नेपालको सहकारी क्षेत्र समेत यो रोगबाट अछुतो छैन । सहकारीका मुल्य मान्यताहरुको अपरिपालनाको ग्राफ बढ्दो छ ।सहकारी क्षेत्रमा सुशासन हराउँदै गएको अवस्था विधमान छ ।सहकारी क्षेत्रमा सदाचार र सुशासनको ठुलो महत्व छ । यो महत्व नवुझ्नाले सहकारी क्षेत्रमा संकटको वादल मडारिरहेको अवस्था विधमान छ ।यो मडारिरहेको वाँदल शान्त पार्न सहकारी क्षेत्रमा संस्थागत सुशासनको पुर्ण पालनाको अपरिहार्यताको खाँचो रहेको छ ।
सहकारीमा सुशासन
सहकारीका आधारभूत मुल्य र मान्यता एवं विधिबाट सञ्चालन भएका सहकारीहरुले आफ्नो उद्देश्य अनुसार आफ्ना सदस्य -हरुलाई विभिन्न किसिमका सेवा प्रदान गर्दै आएका पनि छन। ठूलो संख्यामा सदस्यहरुलाई संगठीत गर्दै स्रोत परिचालन, उत्पादनमा योगदान र रोजगारी सिर्जना गरेका छन। छरिएको पूँजी परिचालन मार्फत आर्थिक उत्थानमा योगदान दिएका छन। तर सहकारीको पवित्र मुल्य मान्यता र आदर्श विपरित समुह र सदस्य भन्दा वाहिर गरी वैकिङ प्रणाली अनुरुप वचत संकलन तथा कर्जा प्रवाह गर्दै अत्यन्त ठूलो परिमाणमा वचत परिचालन तथा विनाधितो ठूलो परिमाणमा ऋण लगानी गर्ने, घर जग्गा कारोवार, शेयर खरिद विक्री जस्तो कारोवार वा अत्यन्त ठूलो लगानीका परियोजना निर्माण जस्ता कार्यमा सहकारीको संलग्नता वढ्न जाँदा यस क्षेत्रमा समस्याहरु पनि वृद्धि हुँदै गएका छन। आफ्ना सदस्यहरुमा भन्दा अन्य व्यक्तिहरुबाट ठूलो परिमाणको वचत संकलन गर्न वाणिज्य वैंकहरुसँग प्रतिस्पर्धा गरी वैंकहरुले भन्दा आकर्षक व्याज तथा मुनाफाको लोभ देखाएर बचतकर्ताहरु आकर्सित गर्ने होडवाजी सहकारीहरु वीच वढ्दै गएको देखिन्छ।
संकलित वचतको परिचालन गर्न अपनाउनुपर्ने विधि तथा प्रणाली अपनाउनुको विपरित स्वार्थ वाझिने गरी सञ्चालक -हरुले नै विना धितो ऋण लिने, डमी ऋणी खडा गरी सञ्चालक तथा व्यवस्थापक आफै रकम उपयोग गर्ने जस्ता वित्तीय अनुशासन हिन कार्य सहकारीमा भएका देखिएका छन। संस्थागत सुशासन अत्यन्त न्यून हुन गई समयमा साधारण सभा नगर्ने, भएका साधारण सभा पनि सिमित व्यक्तिहरुको उपस्थितीमा किर्ते गरी सम्पन्न गर्ने, नियमित लेखा परिक्षण नगराउने जस्ता गैह्र जिम्मेवारपन व्यवहार सहकारी सञ्चालकहरु बाट भएको देखिएको छ।हाल समस्याग्रस्त देखिएका सहकारी सञ्चालकहरुले अनियमित रुपमा सहकारीको वचत रकम हिनामिना गरी सम्पर्क विहिन भई वस्ने र कार्यालयबाट वचतकर्ता सदस्यहरुलाई चाहिएको वेला वचत फिर्ता गर्न नसक्ने कारण सहकारीप्रति आम सर्वसाधारणको विश्वास क्रमशः खस्कदै गएको अवस्था विधमान छ ।
संस्थागत सुशासन
सुशासनको अवधारणा सहकारी संस्थामा बनाउनका लागि पहिला शासनका आधारभूत विषयमा स्पष्ट हुन जरूरी हुन्छ । जसका लागि सहकारी संस्थामा भएगरेका विभिन्न क्रियाकलापहरूको प्रणाली, क्रियाकलापहरूको प्रक्रिया तथा शैली, क्षमता, दक्षता र लक्ष्य तथा परिणामका बारेमा विश्लेषण सहित बुझ्न जरूरी छ । सहकारी संस्थामा हाम्रो कार्य गर्ने प्रणाली कस्तो छ ? र सहकारी संस्थाभित्र विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दाका बखत नेतृत्वले आफू अन्तर्गतका तह वा निकायमा प्रयोग गर्ने भाषा, शैली, व्यवहार तथा दिने निर्देशनात्मक विषयहरू कस्तो रहन्छ भन्ने नै हो । सुशासनका लागि प्रजातान्त्रिक रूपमा सबैलाई समेटेर गरिएका कार्यहरू नै उत्कृष्ट हुन्छन् ।
सहकारी संस्थामा प्रक्रिया तथा शैलीहरू समेत सोही अनुसार अगाडि बढ्नु उपयुक्त मानिन्छ । जसका लागि सहभागिता, जवाफदेहिता, पारदर्शीता तथा विश्वासनीयता जस्ता विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । त्यसो गरेको खण्डमा सुशासन कायम गर्न सकिन्छ र यसको विकास हुन्छ । संस्थामा कुनै पनि कार्यहरू सञ्चालन गर्दा सबै पक्ष अर्थात् शेयर सदस्य, सञ्चालक समिति लेखा सुपरिवेक्षण समिति लगायत सम्पूर्ण तह वा निकायहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता खोजिएको हुन्छ । आर्थिक क्रियाकलाप तथा भए गरेका निर्णयहरूको सबैले बुझ्ने गरी पारदर्शिता कायम गर्नका लागि अग्रसर हुनु पर्दछ । संस्थामा रहेका शेयर सदस्यहरूको विश्वासको जग नै सहकारी हुनु पर्दछ । त्यस्ता सहकारी संस्था जहिले पनि सुशासनयुक्त संस्थाको रूपमा कायम रही राम्रोसँग अगाडि बढ्न सक्छन् । संस्थालाई राम्रोसँग अगाडि बढाउनका लागि संस्था भित्रको व्यवस्थापकीय, प्राविधिक तथा संस्थागत पक्षलाई व्यवस्थित गर्नु पर्दछ ।
जसका कारण संस्थाले अवलम्बन गरेका कार्य दिशा पुरा गर्न वा लक्ष्य तथा परिणाम हासिल गर्न सकिन्छ र संस्थामा सुशासन कायम हुन्छ । सुशासनका विभिन्न तत्वहरू हुन्छन् । जस अनुसार निम्न विषयहरू सहित सहकारी संस्थाहरू सञ्चालनमा आएमा सुशासनयुक्त सहकारीको निर्माण गर्न सकिन्छ ।संस्थामा सुशासन कायम गर्न निम्न तत्वहरुले महत्वपुर्ण भुमिका खेल्दछ ।
जवाफदेहिता
सुशासनको दृष्टिकोणबाट हेर्दा सहकारी संस्थामा हरेक पदाधिकारीहरुले सहकारी संस्थाको हितका लागि र आफूले गरेका निर्णय र कामप्रति जवाफदेही हुने व्यवस्था मिलाउनु पर्दछ । साथै संस्थाको कामप्रति कसैले जानकारी लिन चाहेको समयमा स्पष्ट जवाफ दिन सक्ने हुनु पर्दछ ।
सर्वसम्मत निर्णय
संस्थामा कुनै पनि विषयमा छलफल गर्दै जाँदा निर्णयमा पुग्नका लागि अल्पमत तथा बहुमत भएमा वा पक्ष र विपक्ष भई मत बाझिने अवस्था भएमा सङ्कोच सिर्जना हुन जान्छ । जसका कारण सहकारी संस्था जुन गतिमा अगाडि बढ्नु पर्ने हो सो अनुरूप अगाडि बढ्न सक्दैन । त्यसै कारण पनि सहकारी संस्थामा हामीले कुनै पनि निर्णयहरू निर्णयार्थ प्रस्तुत गर्दा वा छलफल अगाडि बढाउँदा सर्वसम्मत निर्णयको पहल गर्नु पर्दछ। पारदर्शिता
संस्थामा आर्थिक सामाजिक, सांस्कृतिक तथा विभिन्न विषयमा छलफल तथा कार्यान्वयनका तहमा निर्णय गरी कार्यान्वयन गर्दा पारदर्शिता कायम गर्न सक्नु पर्दछ । विशेष गरी नेतृत्व तह यस्ता विषयमा चनाखो बन्नु पर्दछ । सुशासनको दृष्टिकोणबाट सहकारीसंघ÷संस्थामा भएका हरेक क्रियाकलापहरू जस्तै– आर्थिक क्रियाकलाप एवम् सम्पूर्ण प्रक्रियाहरू पारदर्शी हुनु पर्दछ । वित्तीय विवरणहरू प्रमाणित गर्ने, संस्थाका क्रियाकलापहरू, कर्मचारी छनौट प्रक्रिया सूचनाहरू समेत पारदर्शी र स्पष्ट हुनुपर्दछ ।साथै संस्थाले गरेका सबै सामाजिक कार्यहरू पुस्तिकामा प्रकाशित गर्नुपर्छ । यसमा संस्थाले सञ्चालन गरेका विभिन्न स्कीम, कार्यक्रम, आय आर्जन लगायतका कामहरू समेटिनु पर्छ । यस्तो वार्षिक सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको आय व्ययको विवरण, लेखा परीक्षकको प्रतिवेदन र विविध गतिविधि झल्किने फोटोहरू पनि सार्वजनिक गर्नुपर्छ । यसरी नियाल्दा सहकारी संस्थाहरूमा गोप्य राख्नुपर्ने खासै कुनै पनि सूचना हुने अनुमान गर्न सकिन्न । पारदर्शिताले नै सहकारी संस्थालाई थप उचाइमा पु¥याउने हुँदा सबैको ध्यान खुलापनातर्फ नै उन्मुख हुनुपर्छ ।
जिम्मेवारी
संस्थामा हरेक क्रियाकलापहरूको जिम्मेवारी नेतृत्वको हुन्छ । संस्थामा आइपरेका विभिन्न पक्षको अनुगमन मूल्यांकन समेत नेतृत्व पक्षले गर्नु पर्दछ । नेतृत्वले सबै जिम्मेवारी आफ्नो काँधमा मात्र सिमित नराखी योग्यता, क्षमता तथा दक्षताका आधारमा अन्य कर्मचारी तथा व्यवस्थापकहरूमा समेत बाँडफाँड गर्दै अगाडि बढ्नु पर्दछ ।
सहभागिता संस्थाको बैठकका निर्णय लिन दिन सक्ने आधार कस्तो छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । त्यसैले निर्णय अर्थपूर्ण भयो वा भएन सहभागिता कस्तो रह्यो, शेयर सदस्य तथा सरोकारवालाहरूको उपस्थिति कस्तो रह्यो, अधिकारको विकेन्द्रीकरण भयो कि भएन भन्ने कुरालाई समेत नेतृत्वले ध्यान दिनु पर्दछ ।
कानुनी निष्पक्षता
सहकारी संस्थाहरू प्रचलित ऐन, कानुन र नीतिले चल्नुपर्दछ । संस्थामा हरेक गतिविधिहरू सञ्चालन भइरहेका हुन्छन् । ती कार्यक्रमहरू नीतिसङ्गत छन् वा छैनन् भन्ने आधारहरू स्पष्ट पार्न सक्नु पर्दछ । निर्माण भएका र साधारण सभाबाट स्वीकृति प्राप्त नियमावलीहरू, आचार संहिता तथा कार्य विधिहरू स्पष्ट रूपमा अनुसरण गर्दै सोही अनुरूप चल्नु पर्दछ । नीति नियम विपरीत जानेलाई दण्ड सजायको स्पष्ट व्यवस्थाका साथै राम्रो गर्नेलाई उत्प्रेरणा र पुरस्कारको व्यवस्था समेत हुनुपर्दछ । प्रत्येक सहकारी संस्थाले आफ्नो सामान्य विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ । यस्तो विवरणमा सहकारी संस्थाको नाम र ठेगाना, दर्ता नम्बर र मिति, दर्ता गर्ने कार्यालय र कार्यक्षेत्र तथा महिला र पुरुष छुट्टिने गरी सदस्यता सङ्ख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्छ । साथै आफ्नो संस्थाको सञ्चालक समितिमा को को छन् ? सूचना अधिकारी को तोकिएका छन् ? उनको नाम, पद र सम्पर्क नम्बर पनि सार्वजनिक गर्नुपर्छ । वित्तीय अवस्थाको विवरणतर्फ प्रत्येक सहकारी संस्थाले पछिल्लो आर्थिक वर्षको अन्त्यसम्मको स्थिति सार्वजनिक गर्नुपर्छ ।
जसमा शेयर पुँजी, जगेडा कोष, अन्य कोषहरू, कुल बचत, कुल लगानीमा रहेको ऋण, त्यसमा भाखा नाघेको र भाखाभित्रको, चालू आ. व. को सूचना प्रकाशित भएको मितिसम्मको आम्दानी र खर्च सार्वजनिक गर्नुपर्छ । यसले सहकारी संस्थालाई आम मानिसको नजरमा ‘इमानदार संस्था’ को सूचीमा राख्न मद्दत गर्छ । साथै सहकारी संस्थाहरूले वित्तीय विवरणको अवस्था पनि सार्वजनिक गर्नुपर्छ । यस अतिरिक्त सूचनाको हकसम्बन्धी ऐन बमोजिम प्रत्येक सहकारी निकायहरूले तीन–तीन महिनामा आफ्नो गतिविधि स्वतः प्रकाशन सार्वजनिक गर्नुपर्छ । सुशासनका लागि प्रत्येक सहकारी संस्थाले आफ्नो निकायले प्रवाह गर्ने सेवाहरू झल्किने नागरिक बडापत्र तयार गरी संस्थाको अग्र भागमा टाँस गर्नुपर्छ । सबै सहकारी संस्थाले आफ्नो वेबसाइट निर्माण गरी आफ्ना सम्पूर्ण गतिविधि सार्वजनिक गर्नुपर्छ । आफ्नो कार्यक्रम हुने स्थानमा होर्डिङ बोर्ड राख्नुपर्छ । कुनै नयाँ निर्णय भएमा प्रेस विज्ञप्ति जारी गर्ने बानीको विकास गर्नुपर्छ । निश्चित तोकिएको समयमा सार्वजनिक सुनुवाइ गर्नुपर्छ । प्रत्येक सहकारी संस्थाले आफ्नो निकाय सुशासन र पारदर्शिताका लागि ‘नमूना निकाय’ हुने गरी काम गरेमा सफलता हासिल हुने कुरामा ढुक्क हुन सकिन्छ ।
नैतिकता र सदाचारिता प्रर्वदन मार्फत सहकारी क्षेत्रमा सुधार सहकारी सञ्चालकले कार्यसम्पादन गर्दा प्रकट गर्ने व्यवहारमा नैतिकता र सदाचारिता देखिनुपर्छ । कार्यसम्पादनलाई व्यावसायिक र जनमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन नै नैतिकता र सदाचारिता हो । प्रत्येक सहकारी सञ्चालकबाट सदस्यहरुले खास व्यवहारको अपेक्षा गछर्न् । त्यो अपेक्षा पूरा गर्न सके मात्र सहकारिमा प्रभावकारिता आई सदस्यहरु सन्तुष्ट हुन्छन् । नैतिकता भनेको सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो। नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। सहकारिलाई सधैं इमानदार मानिसहरूको खाँचो पर्दछ । अहिले सहकारि क्षेत्रमा नैतिकता र सदाचारको महत्व झनै बढेर गएको छ ।सर्वसाधारणहरूको अनुभूतिमा सहकारि क्षेत्रमा नैतिक आचरणको स्तर निकै कमजोर रहेको अवस्था छ ।
सहकारिका सदस्यहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन्। तर त्यसको सामथ्र्य र तत्परता सहकारि क्षेत्रमा पर्याप्त मात्रामा देखिएको छैन। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन्। यस अवस्थामा सहकारी संस्थामा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन। सदाचार र सुशासन एक अर्काका परिपूरक हुन । सदाचार भएका नागरिक बिना सुशासन कायम गर्न अफ्ठ्यारो हुन्छ भने सुशासन कायम गर्न सकिएन भने सदचारिता हराउदै जान्छ र दुराचारीले समाजमा राज गर्छन् जसको कारण रास्ट्रको गरिमा, समृद्धि बढ्नु त परै जाओस् सामान्य मानवीय सम्बन्धमा समेत गिरावट आउछ्र त्यस कारण सहकारी क्षेत्रमा सदाचार र सुशासनको ठुलो महत्व छ्र । सहकारी सञ्चालकहरु नैतिक, इमानदार र सदाचार रुपमा योग्य हुनुपर्छ। जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ ।
लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो। सहकारी क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ। सहकारी क्षेत्रको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो। सहकारी क्षेत्र सक्षम, प्रभावकारी र सफल हुन सहकारि क्षेत्रमा नैतिकता, समर्पणभाव, पारदर्शिता, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ। वतमान सन्र्दभमा लोभ, मोह र लालचका कारण बेथितिले पनि प्रश्रय पाउँदै आएको छ। यसर्थ क्रमिक रूपमा व्यक्तिगत तहमा आफूले गर्नुपर्ने काम कुन उचित र कुनचाहिँ अनुचित छुट्याउने, व्यावसायिक तहमा पेसागत मान्यता अवलम्बन गर्ने, संगठन तहमा कार्यमूलक संस्कृतिको विकास गर्ने र सामाजिक तहमा समुदायको चाख चाहनाप्रति संवेदनशील बन्ने बानी विकास गरेरै सहकारि क्षेत्रलाई नैतिक र सदाचारी बनाउन सकिन्छ।सुशासन र सदाचारिता भनेको प्रधान रुपमा व्यवहार हो। व्यवहारलाई धारणाले निर्देशित गर्छ। त्यसैले, धारणा परिवर्तन गर्न जरुरी छ। धारणामा परिवर्तन गर्न आत्मानुशासन, शिक्षा, कानुन, नीति नियम, दण्ड पुरस्कार, आध्यात्मिक चिन्तन र व्यवहारजस्ता पक्षहरूको प्रष्ट सैद्धान्तिक व्यवस्था र इमानदार व्यवहारिक अबलम्बन जरुरी छ। सदाचार र सुशासन कुनै प्राकृतिक समस्या होइननयी मानव समाजबाट सिर्जित समस्या हुन ।
त्यसैले यसको समाधानपनि हामी सबै तह र तप्काका मानिसहरु मिलेर गर्नुपर्छ जसका लागि शिक्षा र चेतनाका लहरहरु हरेक बस्ती बस्तीमा पुर्याउन सक्नुपर्छ्र त्यसैले अहिले देखिएको सीमित व्यक्तिको रुचि र स्वार्थप्रधान कार्यशैलीमा परिवर्तन गरि राष्ट्र र जनताको बृहत र हितमा केन्द्रित हुने व्यवहार विशेष रुपमा राजनीतिकर्मी, राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रमा आवस्यक छ्र लोकतान्त्रिक संस्कार र पद्धतिलाई व्यवहारमा आत्मसाथ गने इमान्दार, राजनीतिक प्रयत्न आवश्यक छ न कि ओठे प्रतिबद्धता्र राजनीतिकर्मी राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रले जति धेरै अनुशासन पालना गरे, सदाचारी बने र कर्तव्य निर्बाह गरे त्यति सजिलै सुशासन कायम हुन्छ र राष्ट्र निर्माणमा सहयोग पुग्छ्र । त्यसैले सहकारी सञ्चालकहरुले आफूभित्रको इमानदार सत्य तथा संवेदना र ताकतको मूल्यांकन गरी अरुप्रति देखापर्ने कलुषित विचार, धारणा र दृष्टिकोणलाई यो अहंकार हो भन्ने ठानी दया र करुणाले भरिएको आचरण प्रदर्शन गर्ने क्षमताको विकास गर्नु पर्छ । भौतिक जगतमा स्वार्थले ल्याउने विलाषिता, भ्रमपूर्ण र क्षणिक भावावेश हो भन्ने ठानी डाहा र इष्र्यालाई मनभित्र उब्जनै नदिनेतर्फ ध्यान केन्द्रित गरिरहनु पर्छ । जसलाई देख्दा वा जसको स्मरण गर्दा डाहा उत्पन्न हुने परिस्थिति हुन्छ त्यसतर्फ ध्यानै नदिई सोचमा रुपान्तरण गरी ऊ र आफू एउटै सिक्काको दुई पाटा हौँ भन्ने चिन्तनतर्फ सोच बढाउनु पर्छ । आत्मविश्वासका साथ स्वभाव र विचारमा स्वच्छता ल्याई सकारात्मक गोरेटोतर्फ विश्वास जगाइराख्नु पर्छ ।
जहाँ स्वच्छता र विश्वास हुन्छ त्यहाँ श्रद्धा र समर्पणभाव स्वतः जागृत हुन्छ । त्यसैले मिथ्या अभिमान र म सबै हुँ भन्ने दम्भलाई तिलाञ्जली दिई मेरो सबै र सबै मेरा भन्ने चिन्तन बढाई आफूलाई नैतिक चरित्रवान बनाउनु पर्छ । तब मात्र सहकारीको जीवनले नयाँ इतिहास सिर्जना गर्न सक्छ र यिनिहरुलाई जीवन्तवनाउन सकिन्छ । सहकारी क्षेत्र सुधारका लागि यो वर्तमानसमयले खोजेको चिन्तन हो । अहिले सहकारी क्ष्ोत्रमा चाहिएको विषय नै सदाचार र सुशासन हो । सदाचार र सुशासन एक–अर्कामा अन्तर–आबद्धित छन् ।संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएकाव्यक्तिवाट हुनु पर्दछ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा देखिनुपर्छ । सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो ।सहकारी क्षेत्रमा यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन् । आचरणगत पक्षले सहकारी संस्थालाई आदर्श अवस्थामा पु¥याउन मद्दत गर्छन् ।
त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सहकारी क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा उत्तर पाइन्न । तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ ।
स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।सहकारी सञ्चालकहरुमा नैतिकता र सदाचारिताको आत्म वोध गराई सुशासनको जग बलियो वनाउनु पर्दछ ।
सहकारी क्षेत्र र मूल्य प्रणाली
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालीगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्तता र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरूको विकास गर्ने मनसाय रहेको छ । सहकारी समुदायमा आधारित साझा व्यवसाय हो । समुदायको साझा आवश्यकता र आकांक्षाहरु संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणका माध्यमबाट पुरा गर्ने संगठित संस्थाकोरुपमा सहकारी व्यवसाय सञ्चालन गरिन्छ । सहकारी संस्था सञ्चालनका लागि सहकारीहरुको विश्वव्यापी संगठन “अन्तर्राष्ट्रिय सहकारी महासंघ” ले सैद्धान्तिक मार्गदर्शनहरु प्रदान गर्नुका साथै सापेक्षित परिभाषा मार्फत व्याख्या गरेको हुन्छ । अझ यसलाई मुल्य र मान्यतामा आधारित व्यवसायको रुपमा समेत बुझ्न सकिन्छ ।
सिद्धान्त भनेको कुनै अपरिवत्र्य परिभाषा वा आधार नभई समयसापेक्ष गतिशिल एवम् परिवर्तनशिल आधार हो । सिद्धान्त कुनै पनि कार्य गर्नको लागि उक्त कार्य कसरी हुन्छ वा गर्दछ भनि व्यवस्थापन गर्ने आधारभूत बिचार, नियम वा मार्गदर्शन हो । यसले नियन्त्रणका साथै व्यवस्थापन र मार्गदर्शन प्रदान गर्दछ । सिद्धान्त विमुख हुनु वा सिद्धान्तको अनुपालना नगर्नु भनेको दुर्घटनाको खोजी गर्नु जस्तै हो । सिद्धान्तले विश्वास आर्जन गर्दै मौलिक सत्य स्थापित गर्दछ त्यसैले सिद्धान्तलाई सामान्य कानुन भन्दा धरै माथि र शक्तिशाली हुन्छ भन्न सकिन्छ । यसलाई हामी अपरिहार्य कानुनी आधार हो भन्ने अर्थमा बुझ्नु अझ श्रेयस्कर हुन्छ । कानुनसँग असहमति राख्नु वा सामान्य दायरा भन्दा बाहिर जाने प्रयासले तत्कालिन र अवस्था अनुरुपको प्रभाव मात्र पार्दछ तर सिद्धान्तको पालना नगर्नुले दीर्घकालिन प्रभाव पार्नुका साथै ठुलो दुर्घटना एकैपटक निम्त्याउँदछ ।
त्यसैले कुनै पनि कार्य वा जिम्मेवारी पुरा गर्दा उक्त कार्य वा जिम्मेवारीसँग सम्बन्धित सैद्धान्तिक ज्ञान हुनु आवश्यक छ । सहकारी संस्था सञ्चालनमा यसका सिद्धान्तको प्रयोग मुख्य आधार हो ।आज नेपालमा सहकारीको संख्यात्मक विकास सँगै विभिन्न किसिमका चुनौतिहरु सिर्जित भएका छन्, जसको मुख्य कारण सैद्धान्तिक ज्ञानको अभाव वा त्यसप्रतिको उदासिनता नै हो । निष्कर्ष