२०८० असार ३१।
काठमाडौं -:
साउन महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनका लागि बैंकहरुले फरक-फरक ब्याजदर निर्धारण गरेका छन् ।केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । असारमा बैंकहरुले मुद्दति निक्षेपमा ९.९९% ब्याज दिइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०% विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ ।
सोहीअनुसार वाणिज्य बैंकहरुले असारको लागी नयाँ ब्याजदर निर्धारण गरेको छन् । लामो समयदेखि ‘ब्याजदर कार्टेलिङ’ गर्दै आएका बैंकहरुले चौतर्फी दबाबका बीच यसको अन्त्य गरेका छन् । ‘ब्याजदर कार्टेलिङ’ को अन्त्यले खुला अर्थतन्त्रको संकेत गर्ने जानकारहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टले भने, ‘‘ब्याजदर कार्टेलिङ’ को अन्त्यले खुला अर्थतन्त्रको संकेत गर्छ ।’ साथै, उनले यसबाट सर्वसाधारणलाई केही फाइदा पुग्ने बताए ।
एनएमबि बैंककाे ब्याजदर सबैभन्दा बढी
साउनका लागि मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर तय गर्नेमा एनएमबि बैंक रहेको छ । यसले अधिकतम १०.९८% ब्याजदर दिने जनाएको छ । तथापि, यो १० वर्षभन्दा माथिको मुद्दति निक्षेपको ब्याजदर हो । १० वर्षभन्दा कम र २ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९.७५% ब्याजदर दिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै, प्राइम कमर्सियल बैंकले साउन महिनामा मुद्दति निक्षेपमा १०.९३% ब्याजदर दिने जनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९५% ब्याज दिने भएको छ । साउन महिनाको लागि बैंकहरुको औषत ब्याजदर ९.७२% निर्धारण भएको छ ।