काठमाडौं, वैशाख १६ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिँदै २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको जनाएको छ।बैंकले आधार दरमा न्यूनतम प्रिमियम राखी सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ। कृषक तथा कृषि उद्यमीलाई आकर्षित गर्न कृषि कर्जामा प्रशोधन शुल्कमा समेत सहुलियत प्रदान गरिएको बैंकले जनाएको छ। कुखुरापालन, बाख्रापालन, गाई तथा भैंसीपालन, माछापालन लगायतका क्षेत्रमा लगानी गर्दै आएको बैंकले पछिल्लो समय ‘प्रदेश विशेष कृषि कर्जा’ अन्तर्गत ४.७५ प्रतिशत ब्याजदरमा ५ करोड रुपैयाँसम्म कर्जा प्रदान गरिरहेको छ। त्यस्तै, साना किसान लक्षित ‘साना किसान सरल कर्जा’ अन्तर्गत बिना प्रशोधन शुल्क ४.७५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइँदैछ।
यसका साथै, किसानका लागि ‘किसान क्रेडिट कार्ड’ सुविधा पनि सञ्चालनमा रहेको छ। कृषि कर्जा सेवा थप प्रभावकारी बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति तथा कार्यविधि लागू गरेको छ भने केन्द्रिय कार्यालयमा कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ। देशका ७७ वटै जिल्लामा रहेका ३१४ शाखामार्फत कृषि कर्जा सेवा विस्तार गर्दै बैंकले ग्रामीण क्षेत्रमा पहुँच बढाएको जनाएको छ। बैंकका अनुसार कृषि कर्जाले कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक योगदान पुर्याउँदै आएको छ।













