२०८० साउन ४,काठमाडौं : व्यवसायी दीपक मल्होत्राले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन आफ्नो नभएको बताएका छन् । बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै विमानस्थलबाट बरामद सुनमा उनले आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन् ।
‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु’ मल्होत्राले भने । बुधबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो । मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन् । उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए।