२०८० साउन २६ ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम-बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको हो ।
छलफलमा सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ । यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ । छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरुले विभिन्न प्रकृतिका समस्याहरु भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरुको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्न समेत निर्देशन दिए ।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरुको सम्मान र हितरक्षा गर्न निर्देशन दिए । छलफलमा उप-प्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायतका विशिष्ट पदाधिकारीहरु सहभागी थिए । रासस।