साउन २९,काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आज (साउन २९ गते) देखि प्रिमियममा आइ पी ओ बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।
यसमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीय बसिन्दाले यस कम्पनीको आइ पी ओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता-सम्मको लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यता, कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रति-कित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता-देखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आइ एम बी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आइ पी ओ लाई केयर एन पी त्रिपल बी माइनस इस्यू आर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।










