संगिता सुवेदी / असाेज ११- काठमाडौं ।“मासिक १०० अभियान नेपाल”द्वारा आयोजित जेष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ६९औं श्रृङ्खला शंकरापुर हस्पिटलका सञ्चालक डा.रमेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पुस्ताको उल्लेखनीय सहभागिता रहेको थियो। पहिलो पुस्ताका हजुरबा–हजुरआमाले संस्कार र जीवन अनुभव बाँडे भने, दोस्रो पुस्ता अर्थात् बा–आमाले गीत, नाच, भजनकीर्तनमा सक्रिय सहभागिता जनाए। तेस्रो पुस्ताका युवाहरुले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याए भने चौथो पुस्ताका बालबालिकाले आफ्ना प्रतिभा प्रस्तुत गर्दै संस्कार सिक्ने अवसर पाए।
विशेष अतिथिका रुपमा साहित्यकार बाजुराम पौडेल, साहित्यकार शान्ती रिसाल तथा पत्रकार यादव देवकोटाको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थामा १० वर्षसम्म महत्त्वपूर्ण योगदान पुर्याई संस्थालाई उच्च स्थानमा पुर्याएर पद हस्तान्तरण गर्नुभएका वर्तमान अध्यक्ष तथा संस्थाका जन्मदाता सञ्जय पोखरेललाई सम्मान गरिएको थियो। त्यस्तै पूर्व पदाधिकारी र सल्लाहकारहरुलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरु प्रति संस्थाले आभार प्रकट गरेको छ।











