३० असाेज, काठमाडौं । निर्वाचन आयाेगले चुनाव तयारीका लागि २९ वटा दलहरुसँग छलफल गरेकाे छ । वि.स.२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूसँग छलफल गर्ने क्रममा आज संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दलहरू र निर्वाचन आयोगका पदाधिकारीहरू बीच छलफल भएको हाे। घोषित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार ,निर्वाचनमा खटिने कर्मचारी र मतदान गर्ने नागरिकहरूलाई निर्भयतापूर्वक निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने, आचारसंहिताको पूर्णरूपमा पालना गराउनुपर्ने, निर्वाचनलाई कम खर्चिलो बनाउनु पर्ने एवम् विद्यमान विषम परिस्थितिमा हुन लागेको निर्वाचन भएकोले सम्बद्ध पक्षसँग निरन्तर छलफल हुनुपर्ने सुझाव राजनीतिक दलहरुबाट प्राप्त गरेकाे छ।
निर्वाचन आयाेगकाे विज्ञप्ति -:

त्यस्तै छलफलमा निर्वाचन आयोगका तर्फबाट माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आवधिक निर्वाचनभन्दा फरक समय र परिस्थितिमा हुन गइरहेको आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई सक्रियतापूर्वक सहभागी हुन अनुरोध गर्दै आयोगको तर्फबाट सरकारसँग पटक पटक छलफल भएको, स्रोत साधन र शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारको तर्फबाट पूर्ण प्रतिवद्धता प्राप्त भएको, शान्ति सुरक्षा लगायत निर्वाचन मय वातावरण बनाई कसैले कसैलाई पनि निर्वाचनमा निषेधको राजनीति नगर्न आयोगको तर्फबाट सबै पक्षलाई आग्रह गरिसकिएको बताउँदै तोकिएको समयमा निर्वाचन हुने विश्वास दिलाए । छलफलमा माननीय निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर ज.ब.रा. तथा आयोगका सचिव माहादेव पन्थ लगायतको उपस्थिति रहेको थियो।











