संवाददाता: सन्तोष प्रसाद तिवारी
२०८२ कात्तिक १५,काठमाडौं ।
नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा सडक यातायात जीवनको अनिवार्य हिस्सा बनिसकेको छ। तर पछिल्ला वर्षहरूमा सडक दुर्घटनाको बढ्दो दरले आम नागरिकको सुरक्षालाई गम्भीर चुनौती दिएको छ। दैनिक रूपमा देशभर विभिन्न सवारी साधनका कारण ठूलो संख्यामा मानिसहरूको ज्यान जाने र घाइते हुने घटनाहरू भइरहेका छन्। यो केवल व्यक्तिगत बेवास्ता मात्र होइन, सडक संरचना, यातायात व्यवस्थापन, र कानूनी कार्यान्वयनमा कमजोरीको परिणाम पनि हो।
नेपालमा सडक दुर्घटनाका मुख्य कारणहरूमा यस्ता छन्-:
कमजोर सडकको अवस्था
धेरै सडकहरू साँघुरा, मोडदार र असमतल छन्। हिमाल,पहाडको भौगोलिक बनावट अनुसार सडक डिजाइन नहुँदा वर्षा, पहिरो, र हिलाम्मे मौसममा सडक खतरा बन्न पुग्छ।
सवारी चालकको लापरवाही
तीव्र गति, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, मोबाइल प्रयोग गर्ने जस्ता व्यवहारले दुर्घटनाको जोखिम बढाउँछ।
सवारी साधनको प्राविधिक समस्या
पुराना र मर्मत नभएका गाडीहरू सडकमा हिँड्ने गर्छन्। ब्रेक, टायर, वा लाइट बिग्रिएको अवस्थामा सवारी चलाउँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ।
ट्राफिक नियमको कमजोर कार्यान्वयन
नियम तोड्ने चालकहरूलाई तुरुन्त सजाय नहुने, घुसखोरी र प्रशासनिक कमजोरीले कानूनी डर कम गराएको छ।
सडकमा प्रकाश र संकेतको अभाव
रातको समयमा पर्याप्त बत्ती नहुँदा र सडक चिन्ह नदेखिँदा दुर्घटना हुन सजिलो हुन्छ।
रोकथामका सम्भावित उपायहरू यी विधि अपनाउन आवश्यक छन्-
भौगोलिक संरचना अनुसार आधुनिक सडक निर्माण गर्ने
पहाडी क्षेत्रमा घुमाउरो सडकमा पर्याप्त मोड दूरी, सुरक्षा पर्खाल, र नाली निर्माण गर्नुपर्छ। वर्षायाममा पहिरो नरोकिने ठाउँमा सुरुङ (Tunnel Road) वा वैकल्पिक मार्गको योजना गर्न सकिन्छ। सडक डिजाइन गर्दा भूगर्भीय अध्ययन अनिवार्य बनाइनुपर्छ।
सडक सुरक्षामा प्रविधिको प्रयोग अनिवार्य
ठाउँ ठाउँमा स्मार्ट ट्राफिक सिग्नल, CCTV निगरानी, र हाईवयमा स्पीड क्यामेरा स्थापना गर्नुपर्छ। राति,पहिरो लाग्ने स्थान,अप्ठ्यारो र मोडदार ठाउँमा परावर्तक चिन्ह र क्याट्स-आई लगाउन सकिन्छ।
सवारी साधनको अनिवार्य प्राविधिक परीक्षण गराउन पर्ने
निश्चित अवधिपछि सबै सवारीसाधनले अनिवार्य फिटनेस टेस्ट पास गर्नुपर्छ। असुरक्षित वा प्रदूषण बढाउने गाडी तत्कालै सडकबाट हटाउनुपर्छ।
चालक शिक्षा र सचेतनामुलक जानकारी
चालक अनुमतिपत्र (License) लिनुअघि व्यवहारिक प्रशिक्षण अनिवार्य गर्नुपर्छ। विद्यालय, कलेज र समुदायमा सडक सुरक्षा शिक्षा कार्यक्रम सञ्चालन गर्ने।
कानूनी कार्यान्वयन सुदृढीकरण
ट्राफिक नियम तोड्नेहरूलाई तत्काल जरिवाना र अंक प्रणालीबाट जरिवाना लागू गर्नुपर्छ। प्रहरी र प्रशासनबीच पारदर्शी समन्वय आवश्यक छ।
आपत्कालीन उद्धार प्रणाली सुदृढ बनाउने
दुर्घटना भएपछि तुरुन्त उद्धार सेवा उपलब्ध गराउने २४ घण्टे हेल्पलाइन र एम्बुलेन्स प्रणाली हुनुपर्छ। प्रत्येक राजमार्गमा आपतकालीन प्रतिक्रिया पोस्ट (Emergency Response Post) स्थापना गर्न सकिन्छ।
निष्कर्ष
नेपालमा सडक दुर्घटनाको समस्या केवल भाग्य वा त्रुटि होइन, यो व्यवस्थापन, योजना, र जिम्मेवारीको अभावको परिणाम हो। यदि हामीले भौगोलिक बनावटलाई ध्यानमा राखी आधुनिक सडक निर्माण, चालक अनुशासन, र प्रविधि-आधारित ट्राफिक प्रणाली लागू गर्न सक्यौं भने, दुर्घटनालाई कम मात्र होइन रोक्न पनि सकिन्छ। सुरक्षित सडक हामि सबैको साझा जिम्मेवारी हो।
लेखक/पत्रकार-: सन्तोष प्रसाद तिवारी ktm.











