काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहा‘प्रचण्ड’ले देशलाई कमजोर पार्ने विभिन्न खेलहरू तिव्र रूपमा चलिरहेको बताउँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै पुस्ता एकजुट हुनुपर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ‘नेकपा–जेनजी अन्तरसंवाद कार्यक्रम’मा बोल्दै उनले राष्ट्रपहिलो भन्ने भावना सबैमा जागृत गराउन आवश्यक रहेको उल्लेख गरे।
प्रचण्डका अनुसार जेन–जी समूहले उठाउँदै आएका विषय, एजेन्डा र युवाशक्तिलाई संगठित रूपमा अघि बढाएर ‘नेपाली र नेपाललाई विजय गराउने’ लक्ष्य सहित राजनीतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। उनले युवालाई वैचारिक, राजनीतिक र भावनात्मक रूपमा नयाँ नेपालको नेतृत्व सम्हाल्न सक्षम बनाउनेतर्फ पार्टी अग्रसर रहेको जानकारी दिए।
आगामी निर्वाचनमा ठूलो संख्यामा युवालाई अवसर दिने तयारी भइरहेको बताउँदै प्रचण्डले जेन–जी पुस्ताले सुशासनका लागि उठाएको पहलले देश नयाँ चेतनातर्फ अघि बढ्न प्रेरित भएको धारणा राखे। कार्यक्रममा उनले केही युवाहरूलाई औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए।













