काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पुष ७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको साधारण सेयरमध्ये ५७ हजार ७९८ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बन्द हुने जनाइएको छ।
सेयर निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ मिल्सलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै सुरक्षित रूपमा बहन गर्न पर्याप्त क्षमता राखेको संकेत गर्दछ। रिलायन्स स्पिनिङ मिल्स नेपालका धागो उत्पादन गर्ने उद्योगहरूमध्ये सबैभन्दा ठूलो रोजगारदाता उद्योगका रूपमा परिचित छ। कम्पनीले उत्पादन गर्ने धागोको ७० देखि ७५ प्रतिशतभन्दा बढी भारत, टर्की, भियतनाम, युकेलगायत विभिन्न मुलुकहरूमा निर्यात गर्दै आएको छ।










