काठमाडौं । चलचित्र ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। ‘गोबर गणेश’ बोलको यस गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को स्वर रहेको छ भने शब्द तथा संगीत बाबुल गिरीको छ। क्याची र रमाइलो शैलीको यस गीतले चलचित्रको समग्र मुड झल्काउने प्रयास गरेको छ। गीतले चलचित्र कमेडी बेसमा निर्माण भएको स्पष्ट संकेत गर्छ र कथाको प्रस्तुति शैलीबारे पनि झिनो झलक दिन्छ। साथमा video link
गीतको भावले सबै पक्षमा अब्बल देखिने तर पढाइमा कमजोर व्यक्तिले भोग्नुपर्ने मानसिक दबाब र त्यसले आत्मविश्वासमा पार्ने प्रभावलाई उजागर गरेको छ। पढाइ कमजोर हुँदा समाज र साथीभाइबीच पर्न सक्ने नकारात्मक असरलाई पनि गीतमार्फत देखाइएको छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा देखिएका छन्। उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि महत्वपूर्ण स्थान पाएका छन्।
चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुने तयारीमा छ। मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशनमा बनेको यो चलचित्रको छायांकन सम्पन्न भइसकेको छ भने हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको छ। बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रमा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डीओपी) र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोले पब्लिसिटी डिजाइन गरेको यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालभर चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्ट ले गर्नेछ।











