२९ पुस,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीको शपथ लिएका छन् । मंगलबार पेरिसडाँडामा आयोजित शपथग्रहण समारोहमा जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले संयोजक दाहाल र सहसंयोजक नेपाललाई शपथ गराएका हुन्। त्यसपछि नेकपा संयोजक दाहालले पार्टीका २ हजार ४ सय ९९ जना केन्द्रीय सदस्यलाई शपथ खुवाएका थिए।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न कम्युनिस्ट दलहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो। एकतामा सहभागी सबै दलका केन्द्रीय सदस्यलाई नेकपामा उही पदमा समायोजन गरिएपछि पार्टीको केन्द्रीय समिति जम्बो बनेको हो। शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सहसंयोजक माधवकुमार नेपालले हाल केन्द्रीय समिति ठूलो भए पनि आगामी एक वर्षभित्र यसलाई खिरिलो बनाइने बताए। उनले एक वर्षभित्र प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिने स्पष्ट पारे। नेकपाको एकतासँगै पार्टी संगठन सुदृढ गर्दै वैचारिक र राजनीतिक एकरूपता कायम गर्ने प्रतिबद्धता नेतृत्वले व्यक्त गरेको छ।













