काठमाडौं। भुजुङ हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुनेछ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ICRANP Issuer Rating: BB+ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३० वर्ष बाँकी छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ। कम्पनीले सो आयोजनाबाट २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।












