काठमाडौं / नेपाल टेलिकम ले देशका दुर्गम तथा विकट भौगोलिक क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ। कम्पनीले स्याटेलाइट प्रविधिको प्रयोग गर्दै मोबाइल, टेलिफोन तथा डाटा सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको हो। टेलिकमका अनुसार चालु आर्थिक वर्षमा डोल्पा जिल्लाका विभिन्न स्थान, मुस्ताङको चुम्बा क्षेत्र, रुकुमको तकसेरा, रसुवाको गोसाइँकुण्ड लगायतका दुर्गम स्थानहरूमा स्याटेलाइटमा आधारित जीएसएम सेवा विस्तार गरिएको छ। हाल देशभर यस्ता प्रविधिबाट ३८ भन्दा बढी स्थानमा सेवा सञ्चालनमा रहेको छ, जसमध्ये सबैभन्दा बढी साइट डोल्पा जिल्लामा रहेका छन्।
कम्पनीले अत्यन्त कम जनसंख्या भएका तथा भौगोलिक रूपमा कठिन क्षेत्रहरूमा समेत सेवा पुर्याउन हेलिकप्टरमार्फत उपकरण ढुवानी गर्दै पूर्वाधार निर्माण गरिरहेको जनाएको छ। यस्ता क्षेत्रमा गरिएको लगानी व्यावसायिक रूपमा लाभदायक नभए पनि “राष्ट्रका लागि सञ्चार” भन्ने उद्देश्य अनुरूप सेवा विस्तार गरिएको टेलिकमको भनाइ छ।
त्यस्तै, ब्याकबोन ट्रान्समिसन परियोजनाअन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तार, उच्च क्षमताका राउटर तथा डीडब्लुडिएम उपकरण जडान, तथा वैकल्पिक (रेडन्डेन्ट) लिंक स्थापना गरी नेटवर्कको क्षमता र विश्वसनीयता बढाइएको कम्पनीले जनाएको छ। नेपाल टेलिकमले आगामी दिनमा यी स्याटेलाइट साइटहरूलाई थप आधुनिक प्रविधिमा स्तरोन्नति गर्ने योजना समेत अघि बढाएको छ। दुर्गम क्षेत्रमा सेवा निरन्तरता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय, मर्मतसम्भार तथा पूर्वाधार संरक्षणका कार्यहरू पनि सँगसँगै अघि बढाइएको कम्पनीले स्पष्ट पारेको छ।











