काठमाडौं । नेपाल टेलिकम ले अब नयाँ प्रिपेड eSIM अनलाइनमार्फत नै लिन सकिने व्यवस्था सुरु गरेको छ। यससँगै eSIM लिन सेवाग्राही स्वयं कार्यालय पुग्नुपर्ने बाध्यता हटेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सेवाग्राहीले eSIM पोर्टल मा लगइन गरी “Get New Prepaid eSIM” मा क्लिक गरेर आवश्यक विवरण दर्ता गर्नुपर्नेछ। त्यसपछि विभिन्न वालेट तथा QR कोडमार्फत रकम भुक्तानी गरेपछि eSIM को QR कोड प्राप्त हुनेछ। उक्त QR कोड स्क्यान गरी मोबाइलको सेटिङमार्फत eSIM सक्रिय गर्न सकिने बताइएको छ।
यसअघि प्रयोगमा रहेको सिमलाई पनि अनलाइन मार्फत eSIM मा रूपान्तरण गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै नयाँ फिजिकल सिम लिन आवश्यक फाराम भर्ने तथा ग्राहक विवरण (KYC) दर्ता वा अद्यावधिक गर्ने अनलाइन KYC पोर्टलसमेत यही प्रणालीमा समावेश गरिएको छ। नेपाल टेलिकमका सह–प्रवक्ता प्रतिभा क्षेत्रीले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यो सुविधा विस्तार गरिएको जानकारी दिइन्।











