काठमाडौं २५, जेठ २०८३ – नेपाल टेलिकम ले आगामी FIFA World Cup 2026 लाई लक्षित गर्दै “FIFA World Cup 2026 TV Package” सार्वजनिक गरेको छ। विश्वकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्न चाहने IPTV ग्राहकहरूका लागि नेपाल टेलिकमले विशेष अफर ल्याएको हो। कम्पनीका अनुसार IPTV प्रयोगकर्ताले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
एनटिटिभी ग्राहकहरूले आफ्नो टेलिभिजन मार्फत हिमालयन स्पोर्ट्स च्यानल चयन गरेपछि छुट्टै इन्ट्री स्क्रिन प्राप्त गर्नेछन्। त्यसमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्दा OTP प्राप्त हुनेछ। OTP प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ। साथै, नजिकैको ग्राहक सेवा केन्द्रबाट समेत प्याकेज सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ।
त्यसैगरी, आगामी जेठ २६ गतेदेखि साउन ३ गतेसम्म वार्षिक १०० Mbps वा सोभन्दा माथिको “Internet with Premium IPTV” नयाँ जडान, नवीकरण वा अपग्रेड गर्ने ग्राहकहरूले “FIFA World Cup 2026 TV Package” बोनसस्वरूप निःशुल्क प्राप्त गर्नेछन्। बोनस प्याकेज लिन ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्नेछन्। नेपाल टेलिकमले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय प्रविधि तथा खेलकुद मनोरञ्जन सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको जनाएको छ।






