काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु. ८ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा आर्जन गरेको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको रु. ६ अर्ब ६७ लाखको तुलनामा रु. २ अर्ब ८५ करोड ७९ लाख अर्थात् ४७.५८ प्रतिशतले बढी हो। कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ। समीक्षा अवधिसम्म कुल सञ्चालन आय रु. ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ, जुन गत आर्थिक वर्षको रु. ३३ अर्ब ८९ करोड ४५ लाखको तुलनामा रु. १ अर्ब ५ करोड ५९ लाख अर्थात् ३.१२ प्रतिशतले बढी हो।
त्यस्तै, कुल आय रु. ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आय रु. ३८ अर्ब १८ करोड ८१ लाख रहेको थियो। यस आधारमा कुल आय रु. १ अर्ब १ करोड १५ लाख अर्थात् २.६५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको कर अघिको मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा कर अघिको मुनाफा रु. १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ, जुन गत आर्थिक वर्षको रु. ९ अर्ब ८५ करोड २ लाखभन्दा रु. ३ अर्ब ४१ करोड ४५ लाख अर्थात् ३४.६६ प्रतिशत बढी हो।
त्यसैगरी, कम्पनीको EBITDA रु. २० अर्ब ४८ करोड १ लाख पुगेको छ। कम्पनीका अनुसार गत आर्थिक वर्षको तुलनामा यसमा रु. १ अर्ब ९८ करोड ४१ लाख अर्थात् १०.७३ प्रतिशत वृद्धि भएको छ। कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) रु. ४९.२५ रहेको छ। नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानी करिब रु. ८६ करोड १९ लाख अर्थात् २२.८८ प्रतिशतले घटेको छ। यद्यपि, GSM सेवातर्फको राजस्व रु. ६४ करोड ५४ लाख अर्थात् २.२८ प्रतिशतले बढेकाले समग्र सञ्चालन आयमा वृद्धि भएको हो।
कम्पनीले बढी लागत र तुलनात्मक रूपमा कम प्रतिफल हुने विकट तथा दुर्गम स्थानमा समेत राष्ट्रको सञ्चार सेवाको दायित्व पूरा गर्दै सेवा विस्तार तथा गुणस्तर सुधारको कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।







