काठमाडौं, असार ३० । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल पुनर्बहाली भएकी छन्। नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय (मिति २०८३ असार २६) अनुसार उनलाई पुनर्बहाली गरेको हो। उनीमाथि लागेको आरोपमा सम्बन्धित विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि निलम्बन फुकुवा गर्दै पुनः जिम्मेवारीमा फर्काइएको नेपाल टेलिकमले जनाएको छ।
पदबहाली कार्यक्रममा अर्यालले कर्मचारीलाई संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न आग्रह गर्दै विगतका भ्रम र आरोपको अन्त्य भई सत्य स्थापित भएको बताइन्। उनले आफ्नो अनुपस्थितिमा संस्थालाई नेतृत्व र सहयोग गर्ने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरिन्। अर्यालले आगामी दिनमा संस्थागत सुधार, पारदर्शिता, सुशासन तथा ग्राहकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नेपाल सरकारको नीति तथा मार्गदर्शनअनुसार नेपाल टेलिकमको सेवा र प्रतिष्ठालाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन्। नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रवाह गर्दै कानुनी शासनको सम्मान र दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सधैं प्रतिबद्ध रहेको जनाएको छ।







