काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद्को पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोड मार्फत एसएमएस पठाई वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, तातो हावाको लहर (लु), शीतलहर, धुवाँ, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटलगायतका विपद्को पूर्वसूचना उपलब्ध गराइनेछ।
यसका लागि जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्र, आकस्मिक बाढीको जोखिम भएका स्थान तथा अन्य सम्भावित जोखिमयुक्त क्षेत्रका SMS Polygon र Flash Flood Polygon नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ। साथै जोखिमको प्रकृति, प्रभाव क्षेत्र र सम्भावित असरका आधारमा आवश्यक भौगोलिक नक्सा पनि उपलब्ध गराइने व्यवस्था गरिएको छ। नेपाल टेलिकमले यो सेवा विगतदेखि नै निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ। अब थप १०० वटा सिम उपलब्ध गराएसँगै विभागलाई उपलब्ध गराइने निःशुल्क डेटा सिमको संख्या ८०० पुगेको छ। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागले २०७६ सालदेखि नै मौसमजन्य विपद्को पूर्वसूचना सेवा सञ्चालन गर्दै आएका छन्। कम्पनीले यो सेवा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गर्दै आएको जनाएको छ।







