काठमाडौं, तारकेश्वर–१२, जरंखु | राजन थापा/
तारकेश्वर–८, जरंखुस्थित रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखा को संयुक्त आयोजनामा सञ्चालित दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थी तथा अभिभावकको मुख तथा दन्त स्वास्थ्य संरक्षण, समयमै उपचारको पहुँच विस्तार र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित शिविरबाट ८०० भन्दा बढी विद्यार्थी तथा अभिभावक प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरमा अनुभवी दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले निःशुल्क दन्त परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो। शिविरका क्रममा २५ जनाको दाँत सफा(स्केलिङ)गरिएको तथा ४२ जना बालबालिकाको आवश्यकताअनुसार दाँत निकालिएको आयोजकले जनाएको छ। साथै सही तरिकाले दाँत माझ्ने विधि, मुखको सरसफाइ र दन्त रोगबाट बच्ने उपायबारे व्यवहारिक प्रशिक्षणसमेत प्रदान गरिएको थियो।
विद्यालयका सञ्चालक मधु सापकोटाले शिक्षा केवल पुस्तकमा सीमित नहुने उल्लेख गर्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले स्वस्थ विद्यार्थी नै सक्षम नागरिक बन्न सक्ने भएकाले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक वेदराज घिमिरेले यस्ता शिविरले विद्यार्थीसँगै अभिभावकमा पनि स्वास्थ्य प्रतिको चेतना बढाएको बताउँदै विद्यालयले पढाइसँगै नैतिक, व्यवहारिक र स्वास्थ्य शिक्षालाई समान महत्व दिँदै आएको जानकारी दिनुभयो। त्यसैगरी ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङले अस्पतालको मुख्य उद्देश्य सेवा भएको स्पष्ट पार्दै समाजमा स्वस्थ मुस्कान र स्वास्थ्य सचेतना फैलाउने अभियानलाई विद्यालयसँगको सहकार्यले थप प्रभावकारी बनाएको बताउनुभयो। सामाजिक अभियानता राजन थापाले शिक्षा र स्वास्थ्य एकअर्काका परिपूरक भएको उल्लेख गर्दै आजका विद्यार्थी नै भोलिका जिम्मेवार नागरिक भएकाले उनीहरूको स्वास्थ्यमा गरिएको लगानी राष्ट्रको भविष्यमा गरिएको लगानी भएको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको समापनमा आयोजकले शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, अभिभावक, स्वयंसेवक तथा सहभागी सम्पूर्ण विद्यार्थीप्रति आभार व्यक्त गरेको छ। शिक्षा र स्वास्थ्यलाई एउटै अभियान मार्फत जोड्ने यस सहकार्यले समुदायमा स्वस्थ, सचेत र जिम्मेवार समाज निर्माणको सशक्त सन्देश दिएको आयोजकको निष्कर्ष रहेको छ।







