बाजुरा, भदौ ८ — सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब ४,२०० मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा यसअघि टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा रहेकोमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेसँगै मोबाइल तथा इन्टरनेट सेवा थप प्रभावकारी भएको जनाएको छ। अत्यन्त विकट र भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा विस्तारका लागि प्राविधिक टोलीसहित नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण तथा जडान सामग्री ढुवानी गरी काम अघि बढाइएको थियो। उच्च हिमाली भूगोलमा टावर स्थापना गर्ने क्रममा प्राविधिक टोलीले कठिन परिस्थितिमा काम गरेको नेपाल टेलिकमले जनाएको छ।
निरन्तरको मेहनतपछि भदौ ८ गतेदेखि उक्त क्षेत्रमा टुजी तथा फोरजी मोबाइल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। फोरजी सेवा सञ्चालनसँगै त्रिवेणी नगरपालिका–५ र ६, बडीमालिका नगरपालिका–५ र ६ तथा बाजुरा सदरमुकाम मार्तडीबाट बडीमालिका जाने पदमार्गमा पर्ने प्रसिद्ध त्रिवेणी पाटनलगायतका क्षेत्र दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन्। टावर निर्माण तथा सेवा विस्तार कार्यमा नेपाल टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियर दीपक भट्टलगायत प्राविधिकहरूको सहभागिता रहेको थियो। उच्च हिमाली क्षेत्रमा सञ्चार पहुँच विस्तार भएपछि स्थानीय बासिन्दाका साथै बडीमालिका दर्शनका लागि आउने भक्तजन, तीर्थयात्री तथा पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता पुग्ने नेपाल टेलिकमले विश्वास व्यक्त गरेको छ।





