काठमाडौं । बाढीका कारण प्रभावित भएका रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका विभिन्न स्थानमा अवरुद्ध नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको छ। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी क्षतिग्रस्त साइट मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका टावर तथा साइटमा क्षति पुगेपछि मोबाइल र इन्टरनेट सेवा प्रभावित भएको थियो। टेलिकमका अनुसार प्रभावित क्षेत्रमा रहेका १२० साइटमध्ये ८३ साइटबाट सेवा अवरुद्ध भएको थियो। तीमध्ये तिमुरे, चिलिमे खोला र त्रिशूली ‘ए’ लगायतका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। टेलिकमले सडक तथा विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा सुरक्षा निकायसँगको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक जनशक्ति, जेनेरेटर, इन्धन, ब्याट्री तथा आवश्यक उपकरण ढुवानी गरी सेवा सञ्चालन गरेको जनाएको छ।
भदौ ११ गते रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायत उपकरण पुर्याएर सेवा सञ्चालन गरिएको थियो। त्यस्तै, रसुवा सदरमुकाम धुन्चेमा जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरी सेवा सञ्चालनमा ल्याइएको थियो। भदौ १२ गते गोल्जुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, टुप्चे तथा तिमुरे माथिको डाँडामा रहेका टावरमा जेनेरेटर, पेट्रोल तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। नुवाकोटको मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी–थाक्रे डाँडामा समेत आवश्यक उपकरण र कर्मचारी परिचालन गरी सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ। भदौ १३ गते त्रिशूली ‘ए’सँगै रहेको टावर, रसुवाको उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटको बुङताङमा रहेका टावर सञ्चालनमा ल्याइएको थियो। कटुञ्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालनमा ल्याइएपछि प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए।
भदौ १४ गते थप सात स्थानमा सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ। रसुवा बोर्डर साइटसहित अपर सेन्जेन, छापथोके, जिङजिङबे माइक्रो तथा गत्लाङ र नुवाकोटका चारघरे तथा चारघरे मुलाबारी साइट सञ्चालनमा ल्याइएको थियो। रसुवा बोर्डर बिटिएस साइटमार्फत नेपाल–चीन नाका, तिमुरे, रसुवा बोर्डर करिडोर हुँदै स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ। भदौ १५ गते रसुवाको जिङजिङबे र सरथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइटसमेत सञ्चालनमा ल्याइएको थियो।टेलिकमका अनुसार विद्युत् आपूर्ति नियमित नभएका केही साइटमा अहिले पनि जेनेरेटरमार्फत सेवा सञ्चालन भइरहेको छ। विद्युत् आपूर्ति सहज हुँदै गएसँगै कतिपय साइट स्वतः सञ्चालनमा आएका छन् भने फोरजी सेवाको प्रभावकारिता समेत बढ्दै गएको कम्पनीले जनाएको छ।
क्षतिग्रस्त साइटमध्ये प्राथमिकतामा रहेका साइटलाई निरन्तर सञ्चालनमा ल्याउन जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरिएको छ। पूर्णरूपमा क्षतिग्रस्त साइटलाई प्राथमिकताका आधारमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ। विपद्को समयमा सञ्चार सेवा निरन्तर बनाउन नेपाल टेलिकमले नेपाली सेना, सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय तह, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवा प्रदायक, सञ्चारमाध्यम तथा मोबाइल सेवा सम्बद्ध सहयोगी निकायसँग समन्वय र सहकार्य गरेको जनाएको छ। नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले विपद्को समयमा समेत आमजनसमुदायमा सञ्चार सेवाको सुनिश्चितता कायम गर्दै ‘राष्ट्रको सञ्चार’को गरिमा कायम राख्न कम्पनी प्रतिबद्ध रहेको बताएका छन् ।







