संगिता सुबेदी, काठमाडौं । मासिक १०० अभियान नेपालले आफ्नो ८०औँ ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पन्न गरेको छ। त्रिशूली बाढीमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै कार्यक्रममा श्रद्धाञ्जली, दीप प्रज्वलन, भजन तथा ध्यान कार्यक्रम आयोजना गरिएको थियो।
बाढीबाट भएको दुःखद् मानवीय क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले यसपटकको कार्यक्रमलाई विशेष रूपमा शोक तथा प्रार्थनामय वातावरणमा सम्पन्न गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सभापतित्व संस्थाकी सचिव संगिता सुवेदीले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष विकास श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। संस्थाकी कान्छी सदस्य सुदिक्षा भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पुनर्जीवन प्राकृतिक उपचार केन्द्रकी गुरुमा नबिना गुरु आमा रहनुभएको थियो भने विशेष अतिथिमा पुनर्जीवन प्राकृतिक उपचार केन्द्रका अध्यक्ष अद्वैत गुरुजी रहनुभएको थियो। त्यसैगरी, अतिथिहरूमा दिव्य न्यूज डट कमकी सम्पादक संगीता खतिवडा, महान्काल योग केन्द्रका योगगुरु राजन श्रेष्ठ, जोसेप ओपन स्काउट क्रुका एड्भान्स स्काउट मास्टर २ वेस्ट सुरज गहतराज, स्काउट मास्टर सुजन श्रेष्ठ, संस्थाकी आजीवन सदस्य कविता अर्यालकी सुपुत्री कृतिशा अर्याल, रोभर प्रदीप मगर तथा प्रज्वल बस्नेतलगायतको उपस्थिति रहेको थियो।

जोसेप ओपन स्काउट क्रुबाट पाल्नुभएका स्काउट मास्टर सुजन श्रेष्ठले हालैको विनाशकारी बाढीका कारण ज्येष्ठ नागरिक तथा अभिभावकहरूमा परेको मानसिक असरबाट कसरी बाहिर निस्कन सकिन्छ भन्ने विषयमा आफूले तयार पारेको प्रस्तुति प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको थियो। त्रिशूली बाढीको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै यसपटक नियमित कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका उत्सवमूलक गतिविधिहरू स्थगित गरी दिवंगत आत्माहरूको सम्झना, शान्ति र प्रार्थनालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी सबैले विपद्मा ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए। कार्यक्रमको समापन गर्दै सभापति संगिता सुवेदीले मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै वर्तमान परिस्थितिअनुरूप नियमित कार्यक्रमलाई शोक तथा श्रद्धाञ्जली कार्यक्रममा रूपान्तरण गरिएको बताउनुभयो।







