काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच नेपाल पे कार्ड सेवा विस्तारका लागि सम्झौता सम्पन्न भएको छ।
बैंकको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा सम्झौता–पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियिरिङ हाउसमार्फत उपलब्ध हुने National Card Switch (NPS-NCS) र NEPALPAY Cardको प्रमुख सदस्य बनेको छ। यससँगै बैंकका ग्राहकले निकट भविष्यमा नेपाल पे कार्डसम्बन्धी सेवा प्रयोग गर्न सक्नेछन्।
कार्यक्रममा नेपाल क्लियिरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड व्यवसाय प्रमुख पबिन्द्र राजभण्डारी तथा कार्ड अपरेशन प्रमुख प्रविन आचार्य लगायतको उपस्थिति रहेको थियो। यस्तै, बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उप–कार्यकारी अधिकृत पवन रेग्मी तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो। वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ७७ जिल्लामा सेवा विस्तार गर्दै ३१४ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटीएम र ९९ शाखारहित बैंकिङ सेवा मार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई कर्जा, निक्षेप तथा डिजिटल बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।











