काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ।
नयाँ आचारसंहिताअनुसार कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा खटिँदा कार्यालयसँग सम्बन्धित प्रवर्द्धनात्मक वा शिक्षामूलक सामग्रीबाहेक अन्य फोटो–भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न पाइने छैन। साथै, सरकारी सेवाको गरिमामा आँच आउने, भ्रामक सूचना फैलाउने वा सेवाको मर्यादा विपरीत सामग्री पोस्ट गर्न पनि रोक लगाइएको छ।
यसैगरी, सेवाग्राहीसँग अनुचित सम्बन्ध, उपहार वा लाभ लिन, कार्यालयमा मदिरा सेवन, धूम्रपान तथा अन्य अमर्यादित गतिविधि गर्न निषेध गरिएको छ। मन्त्रालयले कर्मचारीलाई छिटो, गुणस्तरीय र भेदभावरहित सेवा प्रवाह गर्न निर्देशन दिएको छ।







