काठमाडौं, २०८३ साउन २० “मासिक १०० अभियान नेपाल” ले गोकर्णेश्वर-२ स्थित श्री बाल सुधार माध्यमिक विद्यालयका ५ जना विद्यार्थीलाई अघिल्ला वर्षहरूमा प्रदान गर्दै आएको छात्रवृत्ति यस वर्ष पनि निरन्तरताका साथ हस्तान्तरण गरिएको छ । विद्यालयका सह प्राचार्यको सभापतित्व तथा संस्थाका परिकल्पनाकार श्री सन्जय पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मासिक १०० अभियान नेपालका अध्यक्ष बिकास श्रेष्ठ, सचिव सङ्गिता सुवेदी तथा सदस्य प्रतीक चापागाईंको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री सन्जय पोखरेलले “पैसाको अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो अभियानको उद्देश्य हो। हामी सक्दो सहयोग गर्न तयार छौं, तर भाइबहिनीहरूले इमानदारी, अनुशासन र मेहनतका साथ अध्ययन लाई निरन्तरता दिनुपर्छ।” भन्दै विद्यार्थीहरूलाई उत्साह प्रदान गर्नुभयो । त्यसैगरी, संस्थाका अध्यक्ष बिकास श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनसँगै सामाजिक सेवाप्रति पनि सकारात्मक सोच विकास गर्न आग्रह गर्दै समाज प्रति उत्तरदायी, अनुशासित र सेवाभावी नागरिक बन्न प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य हेमराज घिमिरेले “मासिक १०० अभियान नेपाल”ले शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर गर्दै आएको परोपकारी कार्य प्रति आभार व्यक्त गर्नुभयो। उहाँले संस्थाको परोपकारि कार्य प्रती आफू प्रेरित भई आजीवन सदस्य बनेको उल्लेख गर्दै आफ्नो तथा परिवारका सदस्यहरूको जन्मदिन जस्ता विशेष अवसरमा संस्थालाई सहयोग गर्दै आएको बताउनुभयो। यस्ता सामाजिक अभियानहरू निरन्तर अघि बढिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारले मासिक १०० अभियान नेपालले निरन्तर रूपमा शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गरेका थिए ।
यस पुण्य कार्यलाई निरन्तरता दिन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी, आजीवन सदस्य, शुभेच्छुक तथा समाजसेवी महानुभावहरूप्रति “मासिक १०० अभियान नेपाल” परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।







